News Portal

नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने– ‘गठबन्धनकै उम्मेदवारलाई जिताऔँ’

रातोपोस्ट संवाददाता
४७७ पटक

काठमाडाै‌, १ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन्। बिहीबार नयाँ वर्ष २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रचण्डले आफूहरूको पाँच दलीय गठबन्धनका पक्षमा भोट हाल्न आह्वान गरेका हुन्।

पाँच दलीय गठबन्धनले लोकतन्त्र र संविधान रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको दाबी उनले गरेका छन्। नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै नयाँ संविधान कार्यान्वयनका क्रममा दोस्रोपटक स्थानीय तहको निर्वाचन हुन लागेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले संघीयतातालाई जनताको घरदैलोसम्म पुर्‍याउने स्थानीय सरकार बनाउन जनताको उत्साहप्रद सहभागिताले वर्तमान राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको बताएका छन्।

देश, लोकतन्त्र र संविधानविरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्र चिर्दै मुलुक, लोकतन्त्र र संविधान रक्षाका लागि गठित प्रतिगमनविरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखेर स्थानीय तहको निर्वाचनमा होमिएको प्रचण्डले उल्लेख गरेका छन्। यसैले आफूहरूको गठबन्धनका पक्षमा मत हाल्न उनले नागरिकमा अपिल गरेका छन्।

नयाँ वर्षले सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादको यात्रामा अग्रसर हुन नयाँ वर्षले प्रेरणा दिने विश्वाससमेतउनले व्यक्त गरेका छन्। उनले नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराउने विश्वास पनि व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सहित उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन्।

प्रतिकृया दिनुहोस्