News Portal

आजदेखि पुन: मेलम्चीको पानी वितरण हुँदै

रातोपोस्ट
७२४ पटक

काठमाडौं, ११ बैशाख । वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुनः मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आजदेखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो ।

आइतवार बिहान पौने ९ बजे खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंको मीन भवनस्थित पानी ट्यांकीबाट उद्घाटन गरेसँगै उपत्यकावासीले मेलम्चीको पानी पुनः उपयोग गर्न पाउने छन् । गत जेठदेखि मेलम्चीको खानेपानी वितरण रोकिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले पानी वितरणका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए ।

मन्त्री चौधरीले मीनभवनबाट खानेपानीको उद्घाटन गर्ने र त्यससँगै रहेको पाइपको परीक्षण पनि गरिने जानकारी दिए । उनका अनुसार मीनभवनसहित बानेश्वर, थापाथली, महाँकाल (चावहिल), अनामनगरलगायत स्थानमा पानी वितरण हुनेछ । यसैगरी कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भू, बालाजु, नयाँ बजार, कालीमाटी, महाराजगञ्ज लगायतका क्षेत्रमा आइतवारदेखि नै पानी वितरण शुरू गरिनेछ । सरकारले चैत मसान्तभित्र उपत्यकावासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो । घोषणाको १० दिनपछि केयूकेएलले पानी वितरण गर्न लागेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिकृया दिनुहोस्