News Portal

राप्रपाका उम्मेदवारले पाउपाथिभरामा खाए भ्रष्टाचार नगर्ने कसम

रातोपोस्ट संवाददाता
५९८ पटक

झापा, १२ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेचीनगरको प्रमुख र उपप्रमुख पदमा टिकट पाएका उम्मेदवारले साेमबार स्थानीय पाउपाथिभरा मन्दिरमा भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।

आफ्नो मनोनयन दर्ताको दिन मेयरको उम्मेदवार रमेश दाहाल र उपमेयरकी उम्मेदवार सविना बजगाईले कसम खाएका हुन् । राप्रपा पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले प्रमुख र उपप्रमुख पदका प्रत्याशीलाई भ्रष्टाचार मुक्त समाज निर्माण गरी सुशासन कायम गर्न कसम खुवाएका थिए ।

मेयर र उपमेयर सहित मेचीनगरका नगरमा चुनाव लड्ने सबैले एकै पटक कसम खाएका छन् । मेयरका उम्मेदवार दाहालले मन्दिरमा बसेर राष्ट्र र राष्ट्रियताका लागि शपथ खाएको बताए ।

मेयरको उम्मेदवार दाहालले भने ‘सरकारी तलब खाएर आफ्ना बच्चालाई निजी विद्यालयमा पढाउन पाइने छैन । त्यो हामी रोक्छौं । हाम्रो उम्मेदवारी मेचीनगरलाई भ्रष्टाचार मुक्त र सुशासन युक्त बनाउनका लागि हो । राजनीतिलाई शुद्धीकरण गर्नका लागि हो,’ उनले भने, ‘गरिबहरूले पनि बाँच्न पाउने आधार हामी बनाउँछौँ । शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिन्छौं । मेचीनगरलाई स्मार्ट नगर बनाउँछौँ भनेर झुट बोल्दैनौं राम्रो मेचीनगर निर्माण गर्छौं ।’

जिल्ला सदस्य सचिन निरौलाले भ्रष्टाचार नेपालको सबैभन्दा ठूलो रोग भएकोले त्यसको अन्त्य राप्रपाले गर्ने बताएका छन् ।उपमेयरकी उम्मेदवार बजगाईले देशमा आमुल परिवर्तनका लागि राप्रपालाई मत दिएर जिताउन आग्रह गरे । देशलाई असफल राष्ट्र हुनबाट जोगाउन र भ्रष्टचार अन्त्य गर्न राप्रपाको विकल्प नभएको उनको भनाई रहेकाे थियो ।

प्रतिकृया दिनुहोस्