News Portal

बुटवलको सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्छाैं : विष्णु पौडेल

रातोपोस्ट संवाददाता
५८० पटक

काठमाडाैँ, २० बैसाख । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् ।उनी मंगलवार बुटवल उपमहानगरपालिका–११ का विभिन्न टोलमा पुगेर एमालेका सबै उम्मेदवारलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भएका छन् ।

सो अवसरमा बोल्दै नेता पौडेलले एमालेप्रति जनताको असाधारण उत्साह रहेकाले एमालेको जीत सुनिश्चित रहेको बताए । विकास र जनताका सरोकारका मुद्दा एमालेसँग मात्र रहेको जनताले बुझेको बताउँदै उनले एमालेका उम्मेदवारलाई जिताउन जनता आतुर रहेका दाबी गरे ।

बुटवलको सबै सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने नेता पौडेलको भनाइ छ । एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणका सबै प्रक्रिया पूरा गरेको भए पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो,’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नै खारेज गरेर अन्तिम समयमा रोकिन पुगेको छ । अहिलेको सरकारले सुकुम्बासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन । एमाले नेतृत्वको सरकार बनेपछि पूर्जाविहीन नगरवासीलाई जग्गाधनी बनाउँछौं ।’

पौडेलले तिनाउ दानव करिडोर निर्माण क्षेत्रका बसोबासीको पनि उचित प्रबन्ध गर्ने बताए । ‘सडक निर्माणको कार्य र सडक निर्माणका क्रममा प्रभावित स्थानीयलाई सुरक्षित र उचित स्थानमा बसोबासको प्रबन्ध मिलाउँछौं,’ नेता पौडेलले भने ।

नगरका प्रायःजसो विकासका काम भइरहेको बताउँदै नेता पौडेलले जनताको विकासका चाहना आफूले पूर्ण रूपमा बुझेको बताए । ‘विकासको चाहना हामीले बुझेका छौं । कार्यान्वनको जिम्मा हामी लिन्छौं । विकास सिक्न बुटवल आउने हामी बनाउँछौं,’ पौडेलले भने । बुटवलबाट मेयरका प्रत्यासी बाबुराम भट्टराई र उपमेयरका प्रत्यासी सावित्रादेवी अर्याल, एमालेसँग तालमेल गरेको राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारसहित सबै वडामा एमालेको जीत सुनिश्चित रहेको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस्