News Portal

मुलुकको मुहार फेर्न चुनावी तालमेल : महामन्त्री शर्मा

रातोपोस्ट संवाददाता
६३५ पटक

झापा, २५ बैसाख । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताएका छन् । उनले एमालेको नामै नलिई कसैलाई बलियो देखेर चुनावी तालमेल नगरेको स्पष्टसमेत पारे ।

मेचीनगरमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराएर तालमेललाई अनुमोदन गर्न मतदाता समक्ष आग्रह गरे । ‘काँग्रेसलाई एक्लै चुनाव नलडौँ भन्ने नलागेको होइन,’ उनले भने, ‘सहकार्यबाट अघि बढ्दा देशका लागि राम्रो हुने निष्कर्षका साथ पार्टीले चुनावी तालमेल गर्ने निणर्य लिएको हो ।’

चुनावी तालमेल गर्नुको अरू कुनै कारण नभएको उनले दोहोर्‍याए । चुनाव रेस्लिङ खेल्ने र दुश्मनी साँध्ने विषय नभएको उल्लेख गरेका महामन्त्री शर्माले मत दिनु भनेको दण्डित र पुरस्कृत गर्नु दुवै भएको बताए । ‘मत दिएर सधैँ जिताइँदैन मात्रै कहिलेकाहीँ दण्ड पनि दिइन्छ,’ उनले भने, ‘मतदान नगर्ने कुरा कसैले नगरौँ गल्ती गर्नेलाई मतदान गरेरै दण्डित गरौँ ।’

पहिलोपटक मतदान गर्न लागेका मतदातालाई काँग्रेस प्रश्न गर्न उनले आग्रहसमेत गरे । सभ्य र सुसंस्कृत देश बनाउन मतदाताका लागि निर्वाचन अवसर भएको उनको तर्क छ । महामन्त्री शर्माले जनताले दिएको मत विश्वास गर्न नसक्ने र संविधानलाई मास्न खोज्नेलाई भोट दिनेकी मतको सम्मान र संविधानको रक्षा गर्नेलाई भोट दिने हो त्यसको उपयुक्त समय आएको उनले बताए ।

प्रतिगमनविरुद्ध आन्दोलन गरेका शक्तिहरू स्थानीय तह चुनावमा तालमेल र मित्रवत प्रतिस्पर्धामा उत्रेको उनले बताए । अरूलाई गठबन्धन गरे भनेर गाली गर्ने केपी ओलीलाई एमालेले राप्रपा नेपाल र परिवार दलसँग के गरेको भनेर महामन्त्री शर्माले प्रश्न गरे । उनले एमाले सग्लो नरहेको, गम्भीर मतभेद र संकटमा फसेको जिकीर गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो तल्लो स्तरको गाली कुनै पनि दल र तिनका नेतालाई नगर्न कार्यकर्तालाई आह्वान गरेका उनले स्वस्थ प्रतिस्पर्धामा जोड दिए । अहंकारले कसैको पनि हित नगर्ने बताएका शर्माले ओलीको अहंकारकै कारण एमाले सत्ताच्युत भएको दाबी गरे ।

पाँच वर्षलाई शासन गर्न जनताले मत दिएका थिए,’ उनले भने, ‘कम्युनिस्टहरूले पाँचमा शून्य थपेर ५० वर्ष बनाउन खोजेकैले समस्या आएको हो ।’ उनले धेरै स्थानमा काँग्रेसले जितेर नागरिकको सेवा गर्ने अवसर नगुमाउन नेता-कार्यकर्ता आग्रहसमेत गरे ।आइतबार नै शर्माले भद्रपुरको देवकोटाचोक, बुद्धशान्तिको गुराँसबस्तीका चुनावीसभालाई सम्बोधन गरे । यस्तै, मेचीनगरको इटाभट्टा र काँकरभिट्टाको चुनावीसभालाई शर्माले सम्बोधन गरेका छन् ।

प्रतिकृया दिनुहोस्