News Portal

मेचीनगर उपमेयर उम्मेदवार सारदा भन्छिन्, हामी अनावश्यक सपना बाँड्दैनाैं

जसको टिकट केपी ओलीले खोसे

रातोपोस्ट संवाददाता
५९४ पटक

झापा, २६ बैशाख । यो कथा अघिल्लो स्थानीय तह निर्वाचन छेकको हो । मेचीनगर नगरपालिकाको उपमेयरमा एमालेकी अगुवा नेता शारदा शर्मा घिमिरेले टिकट पाउने निश्चित थियो । मनोनयन दर्ताको अघिल्लो दिन नेता भीम आचार्यले शर्मालाई फोनमा भनेका थिए,‘तपाईले टिकट पाउने निश्चित भयो, अव तयारी वस्नु होला ।’त्यो वेला आचार्य प्रदेश १ मा उम्मेदवार छान्ने कमिटीका हर्ताकर्ता थिए । ‘भीम कमरेडले नै कन्फर्म गरेपछि म फुरुङ नहुने कुरै भएन’, शिक्षण पेशमा आवद्ध शर्माले सुनाइन्, ‘स्कुलमा पनि हल्ला व्यापक भयो, राजीनामा कहिले दिने मेडम भनेर सोध्न थाले ।’

शर्माले एउटा वुद्धिमतापूर्ण निर्णय चै के गरिन् भने हातमा टिकट नपरुन्जेल राजीनामा दिइनन्। रात रहे अग्राख पलाउ’ भन्ने नेपाली आहान उनको जीवनमा मिल्यो । अघिल्लो दिन लगभग निश्चित भएको टिकट पाउने कुरा एक रातमै फेरियो । ‘ प्रदेशको सिफारिसलाई केपी ओलीले मिल्काएर आफू नजिकको मान्छेलाई सिफारिस गरे’, शर्माले भनिन्,‘मेरो नाम काटेर टिकट पाएको मान्छेले फोन गर्दा पो म झसंग भएँ ।’

अघिल्लो पटकको निर्वाचन ताका एमाले भित्र व्यापाक गुटवन्दी थियो । त्यसैको शिकार भएकी थिइन, अनुभवी राजनीतिककर्मी शर्मा । ‘टिकट पाएको खुसीमा राजीनामा दिएको भए त आज म वेरोजगार हुने रहेछु’, करिव ३८ वर्ष लामो शिक्षण पेशाबाट महिना दिन अघि मात्रै अवकाश पाएकी शर्माले भनिन्,‘हतारमा निर्णय नगर्दा आज मेरो जागिर जोगियो ।’ ओली गुटबाट चरम राजनीतिक अन्याय व्यहोरेकी शर्मा त्यो समयदेखि राजनीतिमा सक्रिय घटाउदै लगेकी थिइन्। जव एमालेबाट एउटा ठूलो समुह हालै अलगिएर नेकपा एकीकृत समाजवादी वन्यो, त्यस पछि उनको राजनीतिक सक्रियता पुन: बढ्यो ।

समाजवादीले शर्मालाई यसपटक मेचीनगरको उपमेयरको टिकट दिएको छ । ‘पार्टीले विश्वास गरेर उम्मेदवार वनाएको छ’, समाजवादीकी केन्द्रीय सदस्य शर्माले भनिन्,‘जित्ने योजनाका साथ अघि बढेकी छु ।’ मेचीनगरमा नेपाली कांग्रेस–माओवादीवीच मुख्य पदमा तालमेल भएको छ । एकीकृतले उममेयरसहित एक वडा अध्यक्ष र केही सदस्य उठाएर अलग्गै चुनाव लड्दै छ । शर्मा सहितको उम्मेदवार टोली भिन्न खाले चुनावी घरदैलोमा छ । भडकिलो हैन, सादगी खालको चुनावी अभियानमा छन्। ‘नगरवासीको स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत र रोजगारी मेरा मुख्य एजेन्डाहरु हुन’, उनले भनिन्,‘हामी अनावश्यक सपना बाढ्दैनौ, पुरा गर्ने बाचा मात्रै गर्छौ ।

प्रतिकृया दिनुहोस्