
झापा, २६ बैशाख । झापाका धेरैजसो जनप्रतिनिधि महिलाहरुले यो चुनावमा पुन: उम्मेदवार बन्ने अवसर पाएनन । केहीले पुन: सदस्यमै दोहोऱ्याउने मौका सम्म पाए । तर, झापाकी एक जना वडा सदस्यले एकैचोटी उपमेयरको उम्मेदवार वन्ने मौका पाइन्। ती हुन, अर्जुनधारा २ की महिला सदस्य खडगमाया पराजुली । उनलाई एमालेले यसपटक अर्जुनधारा नगरको उपमेयरको उम्मेदवार बनाएको छ । ‘पार्टीले विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएको छ’, उनले भनिन्,‘जिम्मेवारी पुरा गर्ने छु ।’ पराजुलीको परिचय अर्जुनधाराबासीका लागि नौलो हैन । अर्जुनधारा नगरपालिका बन्नु अघि खुदुनाबारी छुट्टै गाविस थियो । खुदुनाबारी गाविस र शनिअर्जुन नगरपालिका गाभिएर अर्जुनधारा नगरपालिका बनेको हो ।
स्थानीय तहको पहिलो निर्वाचन अघि पराजुली खुदुनाबारी क्षेत्रमा मात्रै लोकप्रिय महिला थिइन्। तर, २०७४ को निर्वाचनपछि जव उनी वडा सदस्यमा विजयी बनिन तव उनको परिचय थप फराकिलो बन्यो । अखिल नेपाल महिला संघ र पार्टीको स्थानीय जिम्मेवारीहरू सम्हाल्दै सामाजिक क्षेत्रमा सक्रिय पराजुली अभियान नेपाल नामक संस्थाको एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेकी छन्। त्यही अनुभवले उनलाई उपमेयरको रुपमा एमालेले पत्याएको हो ।
वडा–२ को वडा सदस्य वनेपछि यिनले जनताका विविध समस्या वुझने मौका पाइन । दलित महिला केन्द्र नामक संस्थाको शि लिडस नामक कार्यक्रमले उनको वृत्तिविकाशमा थप टेवा मिल्यो । ‘बोल्नै नजान्ने धेरै महिलालाई यो संस्थाले वोल्न मात्रै सिकाएन, नेतृत्व विकाशमा पनि मद्दत गरयो’, पराजुलीले भनिन,‘म त्यही संस्थाकी उत्पादन हुँ, भन्न पाउदा गर्ववोध हुन्छ ।’
नगरपालिकाको न्यायिक समिति सदस्यको जिम्मेवारीमा पनि रहेर काम गर्ने मौका पाएकी उनी आफूलाई अन्यायमा परेका, निमुखा, गरीव र विपन्न जनताको साथी भन्न रुचाउछिन्। उपमेयरमा जित हासिल गरे अर्जुनधाराको समग्र विकाशमा काम गर्ने जनाइन्। ‘अघिल्लो नेतृत्वले गर्न नसकेका र गर्न वाकी काम फत्ते गर्नेछु’, उनले भनिन्। पराजुलीलाई दलित महिला संघ नेपालले चुनावी खर्चको रुपमा केही आर्थिक सहयोग गरेको दलित महिला केन्द्रका प्रशिक्षक सोम राज ढकालले जनाए ।