News Portal

झापामा ७० प्रतिशत भन्दा बढी मतदान, आजै रातीदेखि मतगणनाको तयारी

रातोपोस्ट संवाददाता
६१४ पटक

झापा, ३० बैशाख । झापामा ७०.४७ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लामा ६ लाख ४६ हजार २३४ मतदातामध्ये २ लाख १८ हजार २६५ पुरुष, २ लाख ३७ हजार १५२ महिला र अन्य गरी ४ लाख ५५ हजार ४१७ जनाले मतदान गरेको जनाइएको छ । अघिल्लो निर्वाचनमा झापामा ५ लाख ८५ हजार एक सय ६६ मतदाता रहेकामा ७२ प्रतिशत मतदान भएको थियो । यसबर्ष मतदाताको सङ्ख्या बढे पनि त्यस भन्दा २ प्रतिशत मत कम खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

यता मतपेटिका सङ्कलनको काम सकिएसँगै जिल्लाका अधिकांश पालिमा आजै रातीदेखि मतगणना कार्य सुरु हुने बताइएको छ । केही पालिकामा अझै पनि मतपेटिका बुझाउने काम भइरहेको छ । बुझाइसकेका पालिकामा अहिले मतगणनाको लागि सर्वदलीय बैठक बस्ने तयारी अवस्थामा रहेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । जिल्लाको ६५८ विभिन्न पदका लागि २७८५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्