News Portal

शिवसताक्षीमा जनप्रतिनिधिले समाले कार्यभार ‘शासक होइन सेवक भएर काम गर्ने’- नगरप्रमुख रोसन

रातोपोस्ट संवाददाता
१५८२ पटक

झापा, १२ जेठ । झापाकाे शिवसताक्षी नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख तथा उपप्रमुखले पदभार ग्रहण गरेका छन् । बिहीवार शिवसताक्षी नगरपालिकाको कार्यकक्षमा नगर प्रमुख मेघहाङ्ग थोप्रा (रोसन) र उपप्रमुख नरमाया कार्कीले पदभार ग्रहण गराएका हुन् । पदभार ग्रहण गर्दै नगरप्रमुख थोप्राले शिवसताक्षीको आवश्यकता र नगरबासीको चाहाना अनुसार यसै आर्थिक वर्षभित्र दमकल खरिदको निर्णय गरे । त्यस्तै, शिवसताक्षी नगरपालिका सवै नवनिर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई सपथ ग्रहण गराइएको थियो । नवनिर्वाचित नगर प्रमुख रोसनले कार्यभार सम्हालेसँगै आफू जनताकाे शासक होइन सेवक भएर काम गर्न बताए ।

कार्यक्रममा नगरप्रमुख रोसनले वडाध्यक्षहरुलाई पदभार ग्रहण गरी जनताको काम लाग्न आग्रह गरेका थिए । नगर तथा वडामा आउने कामहरुमा नगरबासीलाई सर्वसुभल हुने कामहरु गर्न सम्पूर्ण कर्मचारीहरुलाई सुझाव दिएका थिए । नगरका खोलानालामा तटबन्धनमाका समस्या, कृषकलाई मलको समस्या, खानेपानीको समस्याहरुलाई सम्बोधन गर्न लागि पर्ने उनको भनाई थियो । नगरमा रहेका विद्यालयहरुको भौतिक अवस्थामा सुधार भएपछि शिक्षाको गुणस्तरका लागि शिक्षकहरुलाई विभिन्न तालिमहरु दिई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका निर्वाचन अधिकृत मधु पोख्रेलले निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिदैं, ऐन कानूनको परिधिभित्र रहेर कार्य सम्पादन गर्न सुझाब दिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका निवर्तमान नगरप्रमुख चन्द्रकुमार शेर्मा, नगर उपप्रमुख भोजकुमारी नेपाल, नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य राजिव घिमिरे, नेपाली कांग्रेसका नगर सभापति अशोक बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भट्टराई, जनता समाजबादीका नगर सचिव पवन चाम्लिङ्गलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत प्रमुख प्रशाकीय अधिकृत प्रकाश चौधरीले गरेका थिए भने सञ्चालन प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्