News Portal

यस्तो अवस्थामा भेटियो ताराको दुर्घटनाग्रस्त जहाज

रातोपोस्ट संवाददाता
५९४ पटक

काठमाडौं, १६ जेठ । आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारी अनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो । उक्त भग्नावशेषको तस्बिर सेनाले पठाएको छ।

सम्पर्कविहीन जहाज खोजीका लागि गएको सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा रहेको जहाज फेला पारेका हुन्। जहाज दुर्घटनाग्रस्त भएका ठाउँमा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ।‘थासाङ २, मुस्ताङको सानोशरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ सैनिक प्रवक्ता सिलवालले भने।

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर १०:०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो । तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो। जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए । जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए । जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।

प्रतिकृया दिनुहोस्