News Portal

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज, शनिवारको बिदामा अर्को बिदा खप्टियो

रातोपोस्ट संवाददाता
६४१ पटक

काठमाण्डाै, २१ जेठ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ ।दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो ।

तीन हप्तासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ ।

भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ । मच्छिन्द्रनाथको जात्राका क्रममा विभिन्न ठाउँमा रथ परिक्रमा गरिरहँदा जुन ठाउँमा रथ पुग्छ, त्यहाँका बासिन्दाले आफन्त, नातागोता र साथीभाइलाई बोलाएर मिठोमसिनो खुवाएर जात्रा मनाउने परम्परा छ ।

यसैबीच सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रपतिको समुपस्थितिमा भोटो देखाउने कार्यक्रम हुने भएकाले आज शनिवार देशभर सार्वजनिक बिदा रहेको गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।रातो मच्छिन्द्रनाथको जात्रा काठमाण्डौ उपत्यकाको विशिष्ट सांस्कृतिक पर्वका रुपमा रहेकाले मर्यादित रुपमा यो अवसरलाई मनाउन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्