News Portal

झापामा विपद् व्यवस्थापन अभ्यास

रातोपोस्ट संवाददाता
३०१ पटक

झापा, २४ जेठ ।बाढीको उच्च जोखिममा रहेको झापामा सुरक्षा निकाय र सरोकारवालाहरूको सहभागितामा साेमबार विपद् व्यवस्थापनसम्बन्धी बृहत् अभ्यास गरिएको छ । कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सिमसारको विशाल पोखरीमा भएको विपद् व्यवस्थापन अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी र प्रशासनिक निकायका अधिकृतहरूको प्रत्यक्ष संलग्नता थियो ।

अभ्यासका क्रममा सुरक्षाकर्मी र रेडक्रस टोलीले बाढी आएपछिको उद्धार, स्वास्थ्योपचार र राहत वितरणसम्मको नमुना कार्यक्रम प्रदर्शन गरेको थियो । विपद् व्यवस्थापन समितिको बैठक बसेर सुरक्षाकर्मी परिचालन गरेको, बाढी पीडितले ‘बचाओ/बचाओ’ भन्दै चिच्याएको र गाउँलेले बाढी गाउँमा पसेर जनधन जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालयमा फोनमार्फत जानकारी दिएको विषयमा सो अवसरमा अभ्यास गरिएको थियो ।

विपद्को परिस्थिति निम्तिएको बेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाली प्रहरी र रेडक्रसकर्मीले कसरी काम गर्नुपर्छ भनेर अभ्यासको आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो । सुरक्षाकर्मीहरूले बाढीका कारण डुबेको गाउँ र ज्यान जोखिममा परेका गाउँलेको अवस्था मात्र नभएर आपत्कालीन परिस्थतिमा गाडीका ट्युब, बासका चाङ, केराका थाम र प्लास्टिकका बोतलको सहारामा गरिने उद्धार कार्यको दुरुस्त अभ्यास गरेका थिए ।

झापामा कनकाई, विरिङ, रतुवा, मेची, निन्दा, कमललगायत नदीमा आउने बाढीबाट वर्षेनी ठूलो मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । ठूला तथा साना नदीहरूबाट आउने बाढीबाट पीडितलाई बचाउन अभ्यासले सरोकारवालाहरूलाई ऊर्जा र मनोबल बढाउने शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । उहाँका अनुसार झापामा बाढीबाट मानवीय तथा भौतिक क्षति बढी हुने पालिकामा शिवसताक्षी पर्ने जनाउँदै विपद् व्यवस्थापनमा पालिकाले पर्याप्त बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा स्थानीय पालिकाहरूको तयारी सन्तोषजनक नभएको गुनासो गर्दै उद्धार र राहतका लागि पालिकाहरूले कञ्जुस्याइँ गर्न नहुने धारणा राख्नुभयो ।

प्रतिकृया दिनुहोस्