News Portal

विश्व बजारमा मलको मूल्य उतारचढाव हुँदा आपूर्तिमा असहजः कृषि मन्त्रालय

रातोपोस्ट संवाददाता
३०१ पटक

काठमाडाैँ, २४ जेठ । नेपाल सरकारले विभिन्न बालीहरूकोलागि आवश्यक आधारभूत पोषक तत्वका रुपमा रहेको नाइट्रोजन, फोस्फोरस र पोटास तत्व उपलब्ध गराउने रासायनिक मलहरूमा लागत सहभागिताका आधारमा किसानहरूलाई अनुदान उपलब्ध गराउने नीति लिदै आएको छ।

यसै नीति अनुसार सरकारले युरिया, डिएपी र एमओपी मलहरू अनुदानित सुलभ मूल्यमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ। अनुदानमा रासायनिक मल उपलब्ध गराउनको लागि बालीमा मलको महत्व र सरकारको आर्थिक क्षमता समेतका आधारमा वार्षिक रुपमा बजेट वक्तव्य मार्फत निश्चित रकम विनियोजन गर्ने गरेको छ। आर्थिक वर्ष २०७८/७९ को लागि रासायनिक मलमा अनुदानको लागि १५ अर्ब रूपैयाँ विनियोजन भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज आपूर्तिका लागि निरन्तर प्रयासरत रहे पनि विश्व बजारमा आएको मलको मूल्यको उतार चढावको कारणले मल आपूर्तिमा असहजता भएको छ।

यस अवधीमा मल आपूर्तिकोलागि कृषि सामग्री कम्पनी लिमिटेडको तर्फको १ लाख ५ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेशनको तर्फबाट १ लाख १७ हजार मेट्रिक टन गरी जम्मा दुई लाख २२ हजार मेट्रिक टन रासायनिक मल विभिन्न आपूर्तिकर्ताहरूले सम्झौताको समयावधिभित्र उपलब्ध नगराएकोले मल आपूर्तिमा अभाव सृजना भएको मन्त्रालय जनाएको छ।समयावधि भित्र मल उपलब्ध नगराउने त्यस्ता आपूर्तिकर्ताहरूको ठेक्का रद्ध गरी कारवाही प्रक्रियामा समेत अगाडी बढाएको अवस्था छ। यो अविधिमा १ लाख मेट्रिक टन युरिया, ४४ हजार ७ सय मेट्रिक टन डिएपि र ७,५०० मेट्रिक टन एमओपि आपूर्ति भइसकेको छ।

नियमित रुपमा ग्लोबल टेण्डरको अलावा प्रमुख बालीको सिजनमा हुने मल अभावलाई कम गर्न र रासायनिक मलको सहज आपूर्ति र उपलब्धता गराउने अध्येयका साथ नेपाल सरकारले भारत सरकारसँग सरकार-सरकार प्रक्रियाबाट आगामी पाँच वर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार मेट्रिक टन डिएपि मल खरिद गर्ने गरी सम्झौता गरेको छ। धानबालीको सिजनमा मलको आपूर्तिलाई सहजता प्रदान गर्न यस आवको लागि एक लाख ५० हजार मेट्रिक टन रासायनिक मल भारत सरकारबाट यसै सम्झौता अन्तर्गत खरिद गर्न प्रयास भइरहेको समेत मन्त्रालयले जानकारी दिएको छ।

यस सम्झौता अन्तर्गत खरिद प्रक्रिया अगाडि बढाउन नेपाल सरकारको तर्फबाट कृषि सामग्री कम्पनी र भारत सरकारबाट राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर लिमिटेडलाई मल खरिद प्रक्रियाको लागि तोकिएको छ। दुवै कम्पनीहरूबीच विभिन्न चरणमा वार्ता र छलफल भई खरिद सम्झौता अन्तिम चरणमा छ।

केही समयदेखि विश्वव्यापी रूपमा रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र वृद्धि भएकाले पनि सहज आपूर्तिमा ठूलो व्यावधान आएको छ। साथै, यसमा अप्रत्यासित वृद्धि देखिएको छ। गत आवको जेष्ठ महिनामा औसतमा युरियाको मूल्य करिब ५५ रूपैयाँ प्रति केजी र डिएपिको मूल्य करिब ८२ रूपैयाँ प्रति केजी रहेकोमा हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य करिब ९८ रूपैयाँ प्रति केजी र डिएपिको मूल्य करिब १५० रूपैयाँ प्रति केजी पुगेको छ।

रासायनिक मलको आपूर्ति श्रृङ्खलामा आएको व्यवधानका कारण आशातित आपूर्ति हुन नसके पनि हालको अवस्था निम्न अनुसार रहेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

१. साल्ट ट्रेडिङ कर्पोरेशनले खरिद गर्ने मध्ये २० हजार मेट्रिक टन डिएपी प्राप्त भइरहेको; २२ हजार मेट्रिक टन युरिया जेष्ठ अन्तिम हप्तादेखि प्राप्त हुन सुरु हुने।

२. कृषि सामग्री कम्पनीले खरिद गर्ने मध्ये ३० हजार मेट्रिक टन युरिया असारको दोस्रो हप्तादेखि प्राप्त हुन सुरू हुने; २० हजार मेट्रिक टन डिएपी असारको तेस्रो हप्तादेखि प्राप्त हुन सुरू हुने र २० हजार मेट्रिक टन डिएपी असार अन्तिम हप्तादेखि प्राप्त हुन सुरू हुने।

३. सरकार-सरकार माध्यमबाट भारतबाट मल खरिद अन्तर्गत ५० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी असार मसान्त सम्ममा प्राप्त हुने।

प्रतिकृया दिनुहोस्