News Portal

नगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न माग

रातोपोस्ट संवाददाता
३०७ पटक

झापा, १ असार । मेचीनगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न माग गरिएको छ । बुधबार महिला जनचेतना केन्द्र मेचीनगरले आयोजना गरेको स्थानीय तहहरुमा हालसम्म भएका बालबालिका सम्बन्धि नीतिगत व्यवस्था कार्यक्रम र उपलब्धिहरुका विषयमा सञ्चारकर्मीहरुसँगको छलफलमा मेचीनगरलाई बालमैत्री नगरपालिका घोषणा गर्न माग गरिएको हो ।

बालअधिकारकर्मी मणिकुमार लिम्बुले प्रदेश १ मा १३७ वटा पालिकामध्ये ८५ वटाले मात्र बालबालिका सम्बन्धि बाल अधिकार संरक्षण तथा सम्बर्धन कार्यविधि २०७८ तयार गरेको बताए । मेचीनगर नगरपालिकामा सो सम्बन्धी कार्यविधि बनिसकेको उनको भनाई छ । उनका अनुसार बालअधिकार समिति ५० प्रतिशतभन्दा कम पालिकाले निर्माण गरेका छन् ।

छलफलमा बालअधिकारकर्मी लिम्बुले ३८ वटा पालिकाले बालअधिकार समिति, २२ वटा पालिकाले बाल सञ्जाल अधिकारी, ५६ वटाले ऐन, ४५ वटाले बालकोष र ३२ वटा पालिकाले रणनीतिक योजना बनाएको बताए ।

लिम्बुले १ नम्बर प्रदशेका १ सय ३७ स्थानीय तहमा हालसम्म भएका बालबालिका सम्बन्धि नीतिगत व्यवस्था र प्रगतिका बारेमा प्रोजेक्टर मार्फत प्रस्तुतीकरण दिएका थिए ।

जर्मनको किण्डरमिसनरेक संस्थाको सहयोगमा परियोजना २०१९ मे देखि २०२२ अप्रिलसम्म सञ्चालन गरिएको महिला जनचेतना केन्द्रकी अध्यक्ष भुवन सुब्बाले जानकारी दिइन् ।

मानवअधिकार मञ्च नेपाल इलामको मुख्यः साझेदारीमा संस्थाले शुरु गरेको ‘बाल संरक्षणका लागि ऐक्यबद्धता’ परियोजनका क्रममा गरिएको अध्ययनले यस्तो देखाएको हो । संस्थाका अध्यक्ष सुब्बाको सभापतित्वमा भएको छलफलमा लिम्बुले परियोजनाका बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्