विराटनगर, २ असार । विराटनगर महानगरपालिका–१५ स्थित जितु मेडिकलनजिक बुधबार राति दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ। ५–६ जनाको समूहले विराटनगर–१५ का २२ वर्षीय विशाल तामाङ र २१ वर्षीय सन्देश लिम्बूमाथि राति १२ बजेतिर धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ।
हतियार प्रहारबाट दुवै जना घाइते भएका छन्। उनीहरुको कम्मर, तीघ्रा लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। न्युरो अस्पतालमा उपचाररत घाइतेमध्ये विशालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण र आक्रमणमा कुन हतियारको प्रयोग भएको हो भन्ने खुल्न बाँकी रहेको जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा विराटनगरको शहीद रंगशालानजिकका कुशल पाण्डे लगायतका युवाहरुको संलग्नता देखिएको छ। घटनापछि उनीहरु फरार छन्। फरार रहेका आक्रमणकारीको खोजी तीव्र पारेर घटनाका बारेमा अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
गफ गर्न भन्दै बोलाएर आफूहरुमाथि आक्रमण गरिएको घाइतेहरुले प्रहरीलाई बताएका छन्। प्रहरीले आक्रमणमा अपराधिक पृष्ठभूमिका युवाहरुको संलग्नता रहेको हुनसक्ने आशंका गरेको छ।