News Portal

शान्ति प्रकृयापछि हराए ‘जनवादी’ विद्यालय

रातोपोस्ट संवाददाता
२८२ पटक

रोल्पा,५ असार । ‘स्कुलको वन्द कोठाबाट हैन संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोगबाट मात्रै वास्तविक ज्ञान प्राप्त हुन्छ’ भन्ने मान्यताका साथ तत्कालीन नेकपा माओवादीले सन्चालन गरेका ‘जनवादी’ विद्यालयहरु अहिले एकादेशको कथा बनेका छन् ।

सामन्ती सत्ताले शिक्षालाई हुने खाने वर्गको पेवा वनाएको, धनि र गरिबका छोरा–छोरीले पढ्ने विद्यालय नै फरक–फरक बनाएको भन्दै समान एवम् वैज्ञानिक शिक्षा दिने भन्दै खोलिएका त्यस्ता विद्यालय अहिले इतिहासको पानामा कैद भएका छन् ।तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको विशेष संरचनाको रुपमा रहेको केन्द्रीय आधार इलाका भित्र रोल्पा, रुकुम र सल्यानमा एक÷एक वटा जनवादी विद्यालय स्थापना गरिएका थिए ।

केन्द्रीय आधार इलाकामा मात्रै ३ वटा जनवादी विद्यालय र ३१ वटा जनशिक्षालय सन्चालन गरिएका थिए । जनवादी विद्यालयमा कक्षा ४ सम्म र जनशिक्षालयमा कक्षा ३ सम्म पढाइ हुन्थ्यो ।स्थानीय जनसत्ता मार्फत सन्चालन गरिएका ती जनवादी विद्यालयमध्य एक हो थवाङस्थित शहीद स्मृती जनवादी नमूना विद्यालय । माओवादीले सशस्त्र युद्ध थालनी गरेको दिनको सम्झनामा सो जनवादी विद्यालय २०६१ साल फागुन १ गते स्थापना भएको थियो ।सरकार र माओवादी बीच भएको वृहत शान्ति सम्झौतासँगै माओवादी सशस्त्र युद्धमा स्थापना भएका सबै संरचना विघटन गर्ने सहमती अनुसार सो विद्यालय समेत छिमेकी विद्यालय बलभद्र मावि थवाङमा समायोजन भएको थियो ।

समायोजन पूर्व कक्षा ४ सम्म सन्चालनमा रहेको उक्त विद्यालयमा ३३ छात्रा र ५४ छात्र सहित ८७ जना विद्यार्थीले अध्ययन गर्दथे । आवासीय रुपमा ५० जना, अजम्मरी जनकम्युनबाट २४ जना र जनस्तरवाट १३ जनाले पढ्ने गरी कोटा निर्धारण गरिएको थियो । विद्यालयमा पार्टी सेल कमिटी, पार्टी शाखा, अखिल क्रान्तिकारी बाल इकाइ, शिशु स्याहार, निर्माण, मेस लगायतका ७ वटा विभाग गठन गरिएको थियो । अध्यापनका लागि ५ जना शिक्षकको व्यवस्था गरिएको थियो । विद्यालयमा शहिद परिवारका ३४, जनमुक्ती सेनाका १७, कार्यकर्ताका ३२ र घाइते परिवारका ४ विद्यार्थीले अध्ययन गर्ने व्यवस्था मिलाइएको थियो ।

विद्यालयमा भाषा शिक्षा अन्तरगत नेपाली भाषा, मातृ भाषा र अंग्रेजी भाषाको पढाइ हुन्थ्यो । यसैगरी समाज अन्तरगत दर्शन, राजनीति, इतिहास, अर्थशास्त्र, साहित्य र संस्कृती पढाइ हुनुको साथै विज्ञान, स्वास्थ्य र वातावरण, सैन्य विज्ञान र शारिरीक शिक्षाको पढाइ हुने गरेको थियो । यसैगरी अन्य विषयका रुपमा गणित र ललितकला पनि पढाइन्थ्यो । नमुना गाउँका लागि जनशिक्षा र जनसाक्षरता अभियान संचालन गरेको तत्कालीन जनसत्ताको जनशिक्षा विभागबाट पाठ्यक्रम तयार पारिन्थ्यो ।

उक्त विद्यालय हाल थवाङमा रहेको बलभद्र माध्यमिक विद्यालयमा समायोजन गरिएको बलभद्र मावि थवाङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिए । ‘जनवादी विद्यालय रहेको सो स्थानमा हाल अर्को विद्यालय सन्चालन भइरहेको छ,’ घर्तीमगरले भने । प्रदेश सरकारको सामान्य आर्थिक सहयोगमा भवन मर्मत संभार गरी कक्षा ३ सम्म पठनपान गर्ने गरी अर्को विद्यालय सन्चालन गरिएको घर्तीमगरले जानकारी दिए ।

सो समयमा जनवादी विद्यालयमा रहेका ५ जना शिक्षक मध्ये सबै आ–आफ्नो तरिकाले व्यवस्थापन भए पनि तत्कालीन व्यवस्थापक लालचन्द्र रोकालाई मावि थवाङमा निजी स्रोतबाट शिक्षकको रुपमा व्यवस्थापन गरिएको घर्तीमगरले बताए ।२०५७ साल अघिसम्म ध्वंस प्रधान थियो, २०५७ पछि ध्वंस र निर्माणको द्वन्द्वात्मक पद्धती अनुसार जनवादी विद्यालयको सुरुवात गरिएको हो,’ घर्तीमगरले भने । युद्धकालिन सम्पत्तीको रुपमा उक्त विद्यालयलाई संग्रहालयको रुपमा सुरक्षित गर्नु पर्नेमा राज्यले बेवास्ता गरेको घर्तीमगरको भनाइ छ । ‘महत्वपूर्ण इतिहास बोकेको सो विद्यालयलाई संग्राहलयको रुपमा विकास गर्नुपर्नेमा सरकारको ध्यान पुगेको देखिंदैन,’ घर्तीमगरले भने ।

प्रतिकृया दिनुहोस्