News Portal

मेचीनगरमा स्काउट तालिम

रातोपोस्ट संवाददाता
२६७ पटक

मेचीनगर, ११ असार । नेपाल स्काउट प्रदेश नम्बर १, स्थानीय स्काउट मेचीनगरको ४९७ औँ ‘बिटिसि’ तथा ३६४ औँ ‘पिटिसि’ ५ दिवशिय नगर स्तरीय आधारभूत स्काउट तालिम शुक्रबारबाट झापाको मेचीनगरमा शुरु भएको छ । मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय स्काउट मेचीनगरले अरुणेदय माध्यमिक विद्यालय परिसरमा आयोजना गरेको तालिमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका वडानम्बर —६ का वडाध्यक्ष ललितबहादुर तामाङले गरेका थिए ।

तालिम प्राप्त गरीसकेपछि सहभागी शिक्षकहरुले आ—आफ्नो विद्यालयमा गएर स्काउट दल सञ्चालन गर्न सक्षम हुन भन्ने उद्घेश्यले तालिम आयोजना गरिएको स्काउटर दुर्गाबहादुर लुइटेलले जानकारी दिए । नगर स्तरीय तालिम भनिए पनि मेचीनगरसहित रुपन्देही र नवलपरासी जिल्लाबाट समेत तालिममा सहभागी छन् । ३० पुरुष र २४ महिला सहभागी प्रशिक्षार्थीहरुलाई राष्ट्रिय प्रशिक्षकहरु भुवन सुब्बा खरेल, शिवकुमार पौड्याल,नेपाल स्काउट १ नम्बर प्रदेश संयोजक रवि खनाललगायतले सो तालिममा विभिन्न कोर्षमा तालिम प्रदान गर्नुहुने छ ।

तालिमका कोर्ष लिडरहरुमा महिलातर्फ सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कट्वाल कार्की र पुरुषतर्फ सहायक राष्ट्रिय प्रशिक्षक भगिरथ राई रहेका छन् । नेपाल स्काउट, स्थानीय स्काउट मेचीनगर संयोजक रीता थापााको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि वडाध्यक्ष तामाङले स्काउटको संगठनात्मक बिकासको लागि मेचीनगर नगरपालिका तथा वडा कार्यालयको तर्फबाट सहयोग रहिरहने प्रतिवद्धता जनाए । उनले तालिममा सहभागी हुन भएका सम्पूर्ण विद्यालयका प्रशिक्षकहरुलाई बधाई तथा शुभकामना दिदैं नगरपालिकामा स्काउटको तालिम इतिहासमै पहिलो कोसे ढुङ्गाको रुपमा सावित हुने प्रतिबद्धता जनाए ।

स्काउट शिक्षाले एक व्यक्तिलाइ असल नागरिक बनाइ सक्षम व्यक्ति जन्माउने भएकोले स्काउट आधारभूत तालिम आवश्यक रहेको सहभागीहरुको भनाई रहेकाे छ । आधारभूत स्काउट तालिम शिक्षाको आवश्यकता भएको बुझेर नै मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय मेचीनगर स्काउटले तालिमको आयोजना गरेको मेचीनगर संयोजक रीता थापाको भनाई छ । स्काउटर दुर्गाबहादुर लुइटेलले सञ्चालन गरेकाे तालिमको औचित्यमाथि प्रकाश सहायक राष्ट्रिय प्रशिक्षक मीनाकुमारी कट्वाल कार्कीले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्