News Portal

एक किशोरीको पेटबाट बिना शल्यक्रिया निकालियो चम्चा

रातोपोस्ट संवाददाता
५८८ पटक

काठमाडाैँ, १३ असार । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले शल्यक्रिया नगरी आमाशयमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेको हो।

काठमाडौँकै एक १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट निकाल्ने सफलता प्राप्त भएको हो। चम्चा नै निलेर आमाशयमा अड्किनु जटिल घटना हो। यस्तो घटनामा अड्किएको चम्चालाई निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था भए पनि डा. कुँवरले निकै सुरक्षित तरिकाले इण्डेस्कोपी गरी बिनाशल्यक्रिया निकालेका हुन्।

डा. कुँवरले नेपालमा सम्भवत बिना शल्यक्रिया चम्चा नै आमाशयबाट सुरक्षित ढंगले निकालेको यो नै पहिलो घटना भएको दाबी गरे। डा. कुँवर नेतृत्वको टिमले यसअघि बच्चाहरुले झुक्किएर निकालेको सिक्का, झुक्किएर निलेको पिन र ठूलाले झुक्किएर निल्दा अड्किएको हड्डी समेत बिना शल्यक्रिया नै निकाल्दै आएको छ।

‘साइक्ट्रेकि इलनेश टाइपको बिरामीले पानी खाने क्रममा झुक्किएर चम्चा निलेको बताउनुभयो। तर, यस्तो बिरामीहरुलाई वाकवाक गरिरहन पर्ने र वाकवाकी गराउनका लागि चम्चा घाँटीतिर हाल्दा झुक्किएर निलेको देखिन्छ।’ डा. कुँवरले भने–‘आमाशयमा गएर अड्किएको रहेछ। आन्द्रातिर जान नपाएको अवस्थामा हामीले सुरक्षित ढंगले चम्चा निकालेका हौँ।’

आमाशयमा अड्किएको चम्चा ४५ मिनेटको प्रयासमा बिना शल्यक्रिया निकालिएको थियो। ‘चम्चा निकाल्ने क्रममा कतै पनि कुनै चोट वा घाउ समेत लागेन।’ डा. कुँवरले भने– ‘हाम्रा लागि नयाँ सफलता र नयाँ अनुभव दिने घटना पनि हो यो।’ आइतबार चम्चा निलेर आएकी बिरामीलाई रातभर अब्जरभेसनमा राखेर सबै अवस्था नर्मल देखिएपछि सोमबार बिहान डिस्चार्ज गरिसकिएको छ।

प्रतिकृया दिनुहोस्