News Portal

संखुवासभामा ६ जनाको सामूहिक हत्या प्रकरण : ४ जनालाई आजीवन कैद फैसला

रातोपोस्ट संवाददाता
३१३ पटक

संखुवासभा, २१ असार । जिल्ला अदालत संखुवासभाले ४ जनालाई आजीवन कैदको फैसला सुनाएको छ । जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई आजीवन कैद सजायको फैसला सुनाएको हो । हत्यामा ५ जना संलग्न रहेको पुष्टि भएपनि चार जनालालाई​ आजीवन कारावासको सजाय सुनाएको श्रेस्तेदार केदारप्रसाद गौतमले बताए । उनले एक जना नाबालक रहेकाले कम सजाय भएको बताए । २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ । आजीवन कारावासको सजाय सुनाइएकाहरुले बाँचुनजेलसम्म कारागारमा बसेर कैद सजाय कटाउनुपर्ने गौतमले बताए । ४ जनाले मृतक परिवारको राहत कोषमा २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ । नाबालकलाई भने यसमा छुट दिइएको छ ।

नाबालकले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने भएको छ । उनीविरुद्ध कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो । हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल उनले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको थियो । चोरी मुद्दामा पनि अदालतले उनलाई कसूरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ । तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ ।

एकै परिवारको ६ जनाको हत्या गरिएको घटनामा ४९ वर्षीय रणबहादुर कार्की, छोराहरु २८ वर्षीय लोकबहादुर र १७ वर्षीय नरेश तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो । तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन कारावासको सजाय भएको हो । ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको २०७८ साल भदौ २१ गते व्यक्तिगत रिसिविका कारण उनीहरूको हत्या गरिएको थियो । हत्यामा संलग्नहरु तेजबहादुरकै दाजुभाइ हुन्।

प्रतिकृया दिनुहोस्