News Portal

मल अभावसँगै पर्याप्त वर्षा नहुँदा प्रदेश–१ मा धान रोपाइँ प्रभावित

रातोपोस्ट संवाददाता
३०७ पटक

काठमाडौँ, २७ असार । मलको अभावका बीच प्रदेश १ मा हालसम्म ४८.६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। मल अभावसँगै पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँ प्रभावित भएको किसानहरुले गुनासो गरेका छन्।प्रदेश १ स्थित खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार पछिल्लो समय वर्षाको कमिका कारण रोपाइँ हुन नसकिरहेको हो। प्रदेशका १४ जिल्लाको १ लाख ६५ हजार ७ सय ७१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको अधिकारीले जानकारी दिए।

प्रदेशमा रोपाइँका लागि कुल ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल रहेको छ। मध्य असारमा पानी परेसँगै कृषक रोपाइँमा व्यस्त भए पनि पछिल्लो समय वर्षा र रासायनिक मलको अभावमा रोपाइँ काम हुन बाँकी रहेको हो।महाशाखाका सोलुमा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा गरी कुल ६५.८५ प्रतिशत रोपाइँ भएको छ। त्यसैगरि संखुवासभामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमध्ये ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ। संखुवासभामा ४ हजार १ सय ५५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ।

मध्य पहाडीतर्फ तेह्रथुममा ७० प्रतिशत धान रोपाइँ भएको महाशाखाले जनाएको छ। महाशाखका अनुसार १० हजार १ सय ७५ हेक्टर क्षेत्रफलमध्ये तेह्रथुममा ७ हजार १ सय २२ हेक्टर क्षेत्रफलमा रोपाइँ कार्य सकिएको छ।महाशाखा प्रसार अधिकृत अधिकारीले ओखलढुंगामा ६६ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए। जहाँ ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये २ हजार ९ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो।

उच्च पहाडी र मध्य पहाडी क्षेत्रको तुलनामा तराइँमा धान रोपाइँ र उब्जनी अधिक हुने गर्छ। तराईतर्फ झापामा ६१ प्रतिशत रोपाइँ सकिएको छ। झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफल रोपाइँयोग्य जमिन रहेको र हालसम्म ५३ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ।मोरङमा भने अपेक्षाअनुरुप रोपाइँ हुन सकेको छैन। मोरङमा ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा हालसम्म २९ हजार १ सय ५५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको उनले जानकारी दिए।

त्यसैगरि, सुनसरीमा ४५ प्रतिशत रोपाइँ भएको छ। ५५ हजार हेक्टर क्षेत्रफल रोपाइँयोग्य जमिन भए पनि सुनसरीमा हालसम्म २४ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको उनले जानकारी दिए। प्रचार अधिकृत अधिकारीले वर्षासँगै रासायनिक मल उपलब्ध हुन सके कृषकहरु थप रोपाइँ गर्न पर्खिरहेको बताए।

समयमा मल उपलब्ध हुन नसक्दा कृषकले करिब ५१.३६ प्रतिशत क्षेत्रफलमा रोपाइँ गर्न सकेका छैनन्।मोरङ कानेपोखरी गाँउपालिका १० नरेश चौधरीले केही दिनअघि परेको वर्षाले रोपाइँ गरिएको धानमा क्षति पुगेको बताए। वर्षाले खेतमै धान लड्न थालेपछि काटेर सुकाउन थालिएको उनले गुनासो गरेका छन्।

उनले गुनासो गर्दै भने, ‘एकातर्फ मलको अभाव थियो। जसोतसो वर्षे धान रोपाइँ गरेका थियौँ। केहीदिन अघिको वर्षा र बाढीले लडाएको छ। खेतबाट लडेका धान काटेर सुकाउने क्रममा छौँ।’प्रदेशमा विभिन्न जातका धान रोपाइँ हुने गरेको महाशाखाले जनाएको छ। जसमा बासमती, मन्सुली, कान्छी मन्सुली, रन्जीत, सर्नालगायतको उब्जनी हुने गरेको छ।

प्रतिकृया दिनुहोस्