काठमाडौँ, ८ साउन । बाराका सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवान्का तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवान्का तस्बिर भित्तामा टाँस्नुपरेको हो ।
मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् । जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ ।
कतिपयले भगवान्का तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ । नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भने, “सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्यौँ तर अनुरोध नमानेपछि भर्याङका भित्तालाई सफा राख्न भगवान्का तस्बिर टाँस्नुपरेको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।