News Portal

राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित

रातोपोस्ट संवाददाता
५१३ पटक

काठमाडौं, १३ श्रावण । प्रतिनिधिसभाबाट पारित भएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएसँगै विधेयक राष्ट्रियसभाले बहुमतले पारित गरेको हो ।

यसअघि उक्त विधेयकलाई प्रतिनिधिसभाले साउत ६ गते पारित गरेको थियो । अब यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै फिर्ता पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउने प्रावधान छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ । विधेयक कार्यान्वयमा आएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको सन्तानले वंशजको नागरिकता पाउनेछन् ।त्यस्तै, बाबुको पहिचान हुन नसकेकाहरूले आमाको नामबाट पनि नागरिकता लिन पाउने प्रावधान समेटिएको छ । विधेयक पारित भएपछि गैरआवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकको अधिकार पाउने गरी नागरिकता पाउने व्यवस्था विधेयकमा गरिएको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पारित भएर ऐन बनेपछि विदेशीले नागरिकता पाउन नसक्ने गरी नियमावली बनाउने बताउनुभएको छ । उहाँले संविधानको धारा १३ को ४ मा रहेको व्यवस्था अनुसार नेपालभित्र फेला परेको मातृत्व र पितृत्व थाहा नभएको व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिने प्रावधान नागरिकता विधेयकमा राखिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्