News Portal

शनिश्चरे माविमा प्रधानाध्यापक कै संलग्नतामा भ्रष्टाचार : अख्तियारले छानबिन थाल्यो

रातोपोस्ट संवाददाता
७४९ पटक

झापा, १८ साउन । झापाकाे अर्जुनधारा–८ को शनिश्चरे माविको अनियमितता घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान सुरु गरेको छ । प्रधानाध्यापक चेतामणि खनालकै संलग्नतामा अनियमितता भएको समाचार कान्तिपुरले साउन १३ मा प्रकाशित गरेको थियो । त्यही समाचारका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको हो । अख्तियार कार्यालय इटहरीका एक अधिकारीले अनियमितताको प्रमाण जुटाउने काम सुरु गरिएको जनाए । उनले भने,‘अनुसन्धान सुरु गरिसकेका छौँ ।’ प्रअ खनालले अनियमितता गरेको विषयमा शिक्षक–अभिभावक संघले सामाजिक परीक्षण प्रतिवेदन अध्ययन उपसमिति बनाएर अनियमितताबारे गहिरो अध्ययन गरेको थियो । प्रअ खनालले अनियमितता गरेको पुष्टि प्रतिवेदनमा गरिएको छ ।
उनले अध्यापन नै नगरी गैरकानुनी रूपमा तलब र भत्ता बुझेकोदेखि रकम उल्लेख नगरी भर्पाइ बनाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिले स्थलगत अध्ययन गरी निज प्रअले शैक्षिक सत्र, २०७८ मा ११ र १२ कक्षामा एकै पिरियड पनि नपढाएको तथ्य फेला पारेर प्रतिवेदनमा उल्लेख गरिएको छ । जसको अर्को प्रमाण शैक्षिक सत्र २०७८ मा कक्षा ११ र १२ को प्रअद्वारा नै बनाइएको दैनिक अध्यापन तालिकामा एउटै पिरियड ‘तेस्रो’ मा कक्षा ११ र १२ दुवै विषयमा प्रअले आफनो नाम राखेको पाइएको छ । सोबारेमा विद्यालयका सबै सरोकारवाला जानकार छन्।

खनालले आफू प्रअ भएयता शैक्षिक सत्र २०७६ देखि दुई पिरियड नपढाइकन मासिक रूपले २ पिरियडको दरले रकम र थप गैरकानुनी भत्तासमेत गरी २ लाख ६१ हजार ६ सय र २०७८ मा एकै पिरियड नपढाई ३ पिरियडका दरले भत्तासहित २ लाख ९ हजार ३ सय गरी कुल ४ लाख ७ हजार ९ सय रुपैयाँ बुझेको पाइएको छ । तर, प्रअ खनालले भने विद्यार्थीले अध्ययन नगर्ने यस किसिमका विषयहरूमा विद्यार्थी संख्या कम हुनाले यदाकदा अनियमितता हुनु सामान्य विषय रहेको जनाएका छन्।

उनले भने,‘विद्यालयमा कक्षा ११ र १२ मा विगतदेखि नै स्वास्थ्य र शारीरिक शिक्षाको पठनपाठन हुने गरेको र उपलब्ध शिक्षकहरूबाट कक्षा सञ्चालन हुने गरेको थियो । विषयगत शिक्षकको अभाव हुने देखेपछि उक्त विषयको पठनपाठन बन्द गर्ने निष्कर्षमा विद्यालय पुगेको हो ।’ उनले प्रतिवेदनमा लगाइएको आरोपप्रति खण्डन गर्दै आरोप निराधार भएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्