News Portal

केही दलहरूले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको साहारा लिए : अध्यक्ष ओली

रातोपोस्ट संवाददाता
२५४ पटक

काठमाडौँ, २२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दलहरूले आफ्नो अस्तित्व जोगाउन गठबन्धनको साहारा लिइरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा ओलीले निर्वाचनमा एक्लै जाने हिम्मत कसैको नरहेको भन्दै आफ्नो अस्तित्व जोगाउन गठबन्धनको साहारा लिइरहेको बताएका हुन् ।प्रचण्ड र माधव नेपालहरू कांग्रेस नामको बन्चरोको बिँड भएको र उनीहरुको कुनै अस्तित्व नै नरहेको ओलीको भनाइ छ । उनले एमालेलाई समाप्त पारेर कांग्रेसलाई पहिलो बनाएर आफू दोश्रो हुनका लागि उनीहरू कांग्रेसको पछिपछि हिँडेको धारणा राखे ।

कांग्रेसका पछाडि लागेर समाजवाद नहुने भन्दै ओलीले समाजवादी पार्टी नाम राखेर जनतालाई नझुक्याउने काम भएको तर्क गरे । उनले गठबन्धन नामको ग्याङले देश लुटिरहेकाले अब निर्वाचनमा एमालेको सरकार बन्‍नुपर्ने बताए । आफू सरकारमा हुँदा जहाँ छोयो त्यहाँ विकास हुने भएपनि अहिले अहिलको सरकारले जहाँ छोयो त्यहाँ खरानी पारेको उनले उल्लेख गरे ।

ओलीले परमादेशबाट आएको गठबन्धनले जनादेश पायो भने झनै देशमा अझै विनाश हुने जिकिर गरे । आगामी निर्वाचनमा देशलाई बचाउनका लागि एमालेको बहुमत आवश्यक रहेको उनको भनाइ छ । ओलीले हिजो एमाले सरकारले गरेका राम्रा कामको बारेमा जनतालाई बुझाइ एमालेको पक्षमा जनमत तयार गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्