News Portal

राष्ट्रपति विद्यादेवी भण्डारी राजा महेन्द्रको पथमा हिँड्नुभएको छः कांग्रेस सहमहामन्त्री

रातोपोस्ट संवाददाता
२५८ पटक

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो राजा महेन्द्र बनेको आरोप लगाएका छन् ।

“राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको साधारण कार्यकर्ताजस्तो देखिनुभएको छ । एमालेको जिम्मेवार कार्यकर्ता भएको भए पनि देशका लागि सोच्नुहुन्थ्यो होला । उहाँ राजा महेन्द्रको पथमा हिँड्नुभएको छ । उहाँ दोस्रो राजा महेन्द्र हुनुभएको छ । एमालेको भोटको राजनीतिमा फस्नुभएको छ । उहाँले सार्वभौमसत्ता सम्पन्न संसदलाई अपमानित गर्नुभएको छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने ।

राष्ट्रपतिलाई नागरिकता विधेयक रोक्ने नैतिक, कानुनी र संवैधानिक अधिकार नदिएको पनि यादवले औंल्याए । उनले भने, “आमाबाबु जन्मसिद्ध नागरिक, उसका छोराछोरी अनागरिक कसरी हुन्छ ? तिनको अपराध के हो ? तिनलाई धपाएर पठाउने ? राष्ट्रपतिसँग देशलाई जोड्ने अवसर थियो । उहाँले एमालेको डिजाइनमा यो काम गर्नुभएको छ । नेपाली जनताले राष्ट्रपतिलाई माफी दिने छैनन् ।”

उनले नेपालको राष्ट्रपति नेकपा एमालेको अध्यक्ष हो भनी प्रश्न गरे । यादवले थपे, “नागरिकताको समस्या मधेसमा मात्र होइन, पहाडमा पनि छ । उहाँ संसद् विघटनको बेला एक्सपोज हुनुभएको थियो । अहिले फेरि चुनावी मसला बनाउने काममा लाग्नुभएको छ । उहाँले महिलालाई अपमानित गर्नुभएको छ । बाबु को थियो भन्ने आमालाई थाहा हुन्छ कि दाजुभाइलाई थाहा हुन्छ ? नेपालको राष्ट्रपति एमालेको अध्यक्ष हो ? केपी ओली र एमाले चुनावमा धुलोपिठो हुनेवाला छन् ।” उनले नागरिकता विधेयक संसद्ले फेरि पास गर्ने र राष्ट्रपतिले बाध्य भएर प्रमाणीकरण गर्ने पनि औंल्याए ।

मधेस प्रदेश सरकार केन्द्र सरकारविरुद्ध धर्नामा आउनु जरुरी नभएको पनि उनको भनाइ छ । यादवले भने, “प्रदेश प्रहरी समायोजनमा केन्द्रीय सरकार सकारात्मक नै छ । यो मधेस प्रदेशमा मात्र होइन, सबै प्रदेशको समस्या हो । तीन महिनापछि चुनाव हुने भएकाले तत्काल प्रहरी समायोजन भए पनि कार्यान्वयन गर्न गाह्रो छ । यो समस्या वार्ताबाटै समाधान हुन्थ्यो, धर्नामा आउनु आवश्यक थिएन ।”अर्को प्रसंगमा उनले यो गुट त्यो गुटभन्दा पनि जित्नेले टिकट पाउने बताए । यादवले थपे, “शेखर कोइराला र शेरबहादुर देउवा दुवैको उद्देश्य पार्टीलाई जिताउने हो । जित्ने उम्मेदवार छ भने हामी अर्को पक्षलाई ४० होइन, ५० प्रतिशत नै दिन्छौं । हामी जित्नेलाई टिकट दिन्छौं ।”

प्रतिकृया दिनुहोस्