News Portal

एलिजावेथको निधनमा तीन दिन शोक मनाउने मन्त्रिपरिषदको निर्णय

रातोपोस्ट संवाददाता
३१८ पटक

काठमाडौं, २४ भदौ । नेपाल सरकारले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो। यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो ।स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङहम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो। उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन् ।

प्रतिकृया दिनुहोस्