News Portal

थुलुङ दूधकोसीमा गाउँवासीकै पहलमा निर्माण भयो अस्पताल

रातोपोस्ट संवाददाता
२९४ पटक

सोलखुम्बु, ११ असोज । सोलखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका- ६ की हर्कमाया गुरुङले जीवनमा पहिलोपटक आफ्नै गाउँमा उपचार सेवा लिइन् ।गत ३ असोजमा गाउँपालिकाले निर्माण गरेको थुलुङ दूधकोसी अस्पतालको उद्घाटनका क्रममा उनले पहिलोपटक सेवा लिँदा हर्कमायाका हर्षका आँसु खसेका थिए । ‘म दमको रोगी । हरेकपटक उपचार गर्न काठमाडौँ धाइरहनुपर्थ्यो । अब मेरो उपचार आफ्नै गाउँको अस्पतालमा हुँदा निकै खुसी छु,’ हर्कमायाले भनिन् ।

आजभन्दा ४ वर्षअघि उनले अस्पताल निर्माणका लागि ६० हजार रकम आर्थिक सहयोग गरेकी थिइन् । ‘त्यतिबेला अस्पताल बनाउन महायज्ञ लगाइएको थियो । मैले घरको भैँसी बेचेर पैसा दिएँ,’ उनी सुनाउँछिन् । हर्कमायाले जस्तै थुप्रै गाउँलेहरूले आफ्नै पहलले गाउँमा अस्पताल निर्माण गरे । गाउँपालिकाकी इन्जिनियरका रूपमा कार्यरत सुजाता गुरुङले पनि अस्पताल निर्माणका लागि एक महिनाको आधा तलब गाउँपालिकालाई दिएकी थिइन् ।

बिरामी वा दुर्घटना हुँदा बेलैमा उपचार नपाउनु थुलुङ दूधकोसी गाँउवासीको दुर्भाग्य थियो । ‘अब हामीले बिरामी भएर अकालमै ज्यान गुमाउनुपर्ने परिस्थिति त आउँदैन नि,’ सुजाता भन्छिन् । गाउँपालिकामामा अस्पताल बनाउने सपना थुप्रै वर्षअघि देखेका थिए गाउँपालिका अध्यक्ष असीम राईले । ‘जब आधारभूत आवश्यकताबाटै गाउँवासीहरू वञ्चित छन्, उपचार नपाएर अकालमै ज्यान जान्छ भने त विकास कसरी हुन्छ र ? अघिल्लोपटक गाउँपालिका अध्यक्ष निर्वाचित हुँदा मैले अस्पताल बनाउने पहल लिएँ, ‘ अध्यक्ष राई भन्छन् ।

अध्यक्षकै पहलमा त्यतिबेला महायज्ञ लगाएर स्वदेश तथा विदेशमा रहने व्यक्तिबाट रकम सङ्कलन गरिएको थियो । अहिले ५० शय्याको अस्पताल तयार भएको छ ।अस्पताल रौता कुवर जेभी निर्माण कम्पनीले १० करोड १० लाख ७२ हजार ७५३ रुपैयाँमा तयार पारेको छ । जेभीले २०७६ साल मंसिर २८ गतेबाट निर्माण कार्य सुरु गरेको थियो । अस्पतालसँगै गाउँपालिकाले प्राविधिक शिक्षालय र प्रशासनिक भवन पनि निर्माण गरेको छ ।

अस्पताल, प्राविधिक शिक्षालय र प्रशासनिक भवनको उद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । उद्घाटनका क्रममा प्रचण्डले भने, ‘विकट ठाउँमा भएर पनि यो गाउँपालिकाले राम्रो काम गरेको छ । यो समाजवादको राम्रो अभ्यास हो । जसको सुरुवात यहाँबाट भएको छ ।’अध्यक्ष राईका अनुसार मातृशिशु र ट्रमा सेन्टर अस्पताल प्रदेश १ कै सुविधासम्पन्न अस्पतालको रूपमा उक्त अस्पताललाई स्थापित गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।उक्त अस्पतालमा सोलुखुम्बुका नगरपालिकासहित ५ स्थानीय तह र खोटाङका नागरिकले समेत स्वास्थ्य सेवा लिन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्