News Portal

यस्तो छ भाइपूजा गर्ने विधि

रातोपोस्ट संवाददाता
५०० पटक

काठमाडौँ,१० कार्तिक । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको छ ।

यस्तो छ भाइपूजा गर्ने विधि

सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । त्यसपछि पानी र तेलले पालैपालो दाजुभाइलाई सातपटक घेरी परिक्रमा गरिन्छ । त्यसपछि फूल, अक्षता आदिले दाजुभाइको पूजा गरी शिरमा तेल लगाइन्छ ।

सप्तरङ्गीमा इन्द्रधनुषका सात रङ्गहरू प्रयोग गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार–प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।एकभन्दा बढी दाजुभाइ हुनेहरूले भाइटीकाको दिन सबैभन्दा कान्छोदेखि टीका लगाउन सुरु गर्ने प्रचलन छ । तर, यो कुनै शास्त्र उल्लेखीत नियम भने होइन ।

दिदीबहिनीले टीका लगाइदिएपछि कहिल्यै नओइलाउने मखमली फूलको मालालाई फूलझैँ सधैँ ऊर्जावान हुने कामनाका साथ लगाइन्छ । तत्पश्चात दाजुभाइलाई उपहार तथा सेलरोटी र अन्य मिठा परिकार थालमा सजाएर दिने चलन छ । सँगै दाजुभाइले पनि उपहार तथा दक्षिणा दिँदै दिदीबहिनीको पाउमा ढोगीदिन्छन् । नेपालीहरूले दिदीबहिनीको पाउमा ढोगे पनि भारत तथा अन्य मुलुकमा भने जो उमेरमा ठूलो छ उसलाई मात्र ढोग्ने प्रचलन रहेको छ । आजको दिन दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानी पोखरीमा रहेको मन्दिरमा पूजाआजा गर्छन् । यो मन्दिर आज एकदिनका लागि मात्र खुल्ने गर्दछ ।

प्रतिकृया दिनुहोस्