News Portal

पार्टी प्रवेशको लहरले गठबन्धनका उम्मेद्वार थप उत्साही

रातोपोस्ट संवाददाता
४२८ पटक

काँकरभिट्टा, २२ कात्तिक । झापा क्षेत्र नं. १ मा एमाले पार्टीमा सक्रिय नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गर्ने लहर जारी छ । गठबन्धनका उम्मेद्वारलाई जिताउन एमाले पार्टी परित्याग गरेको उनीहरु बताउँछन् । सोमबार मेचीनगर–२ मा एमालेका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस पार्टीमा प्रवेश गरेका थिए भने मंगलवार (आज) मेचीनगर–६ काँकरभिट्टामा ५० जना एमालेका सक्रिय कार्यकर्ताले सो पार्टी छाडेका हुन् ।

मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मेचीनगर–६ का वडा अध्यक्ष कमल कुमार गुभाजुसहित रेविका चिमरिया, सुवास तामाङ, जीवन प्रधान, सागर लिम्बू, पासाङ शेर्पालगायत ५० जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । उनीहरुलाई पार्टीका महामन्त्री तथा उम्मेद्वार शर्माले स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार शर्माले पार्टी प्रवेशले गठबन्धनलाई थप उर्जा र सफलता मिलेको बताए । उनले झापा क्षेत्र नं. १ का समग्र जनताको भावनामाथि कहिले कुठराघात नगर्ने स्पष्ट पारे । शर्माले झापा क्षेत्र नं. १ ले मुलुकको नेतृत्व गर्ने बताए । त्यसका लागि संघमा विश्वप्रकाश, प्रदेशमा गोपाल तामाङ र श्यामविर लिम्बूलगायत गठबन्धनका उम्मेद्वारलाई विजयी गराउन अपिल गरे ।

कार्यक्रममा प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालाजित राई, नेपाल टे«ड युनियन महासंघका केन्द्रीय अध्यक्ष धर्म भण्डारी, पूर्व सांसद महिन्द्रा सुब्बा, मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य, संविधान सभा सदस्य उषा गुरुङ, दमक नगरपालिका उपप्रमुख रेजिना भट्टराई, नेपाली काँग्रेसका पूर्व क्षेत्रीय सभापति मणिकुमार उप्रेतीलगायतको उपस्थिति रहेको थियो । नेपाली काँगेस मेचीनगर–६ का वडा सभापति पारस सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन काँग्रेसका वडा सचिव कुलदिप राई र प्रल्हाद श्रेष्ठले गरेका थिए ।

यसैबीच, झापा क्षेत्र नंं. १ लोकतान्त्रिक बाम गठबन्धन प्रचार समितिले घरदैलो अभियानलाई तीब्र पारेको छ । चुनावी मिति नजिकिएसँगै गठबन्धनका उम्मेद्वारमा जीतको उत्साह झन् बढेर गएको छ । मंगलवार उम्मेद्वार विश्वप्रकाश शर्माले मेचीनगर–७ र ८ का इटाभट्टा, प्यारिभिट्टा, प्रगति टोल लगायतका क्षेत्रमा घरदैलो गरिएको छ । उनीसँगै प्रदेश ‘क’ का उम्मेद्वार गोपाल तामाङ, समानुपातिक उम्मेद्वार बालाजित राईलगायतका गठबन्धनका नेता तथा कार्यकर्ताले साथ दिएका छन् ।

यस्तै, गठबन्धनका तर्फबाट प्रदेश ‘ख’ का उम्मेद्वार श्यामविर लिम्बूले घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । मतदाताको विश्वास जितिरहेका लिम्बू शालिन र भद्र स्वभावका नेताको रुपमा परिचित छन् । मंगलवार उम्मेद्वार लिम्बूले बुद्धशान्ति–४ र ७ मा मतदातासँग भेटघाट गरेका छन् । बुद्धशान्तिको जोगीडाँडाबाट सुरु भएको अभियान पिपल चोक, हापेन चोक, मोदी डाँडा लगायतका टोलसम्म सञ्चालन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्