News Portal

सपना बाँड्ने होइन, काम गर्छाै : शर्मा

रातोपोस्ट संवाददाता
२२५ पटक

मेचीनगर, २८ कात्तिक । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले जनताको एकमत पनि खेर नजाने गरी काम गर्ने विश्वास दिलाएका छन् । चुनावी घरदैलो अभियानका क्रममा सोमबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजित संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै शर्माले जनताले ठूलोभन्दा पनि साना कुराको अपेक्षा गरेको बताए ।

‘जनताले स–साना कुराहरु खोजिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी गर्न सक्ने कुरा मात्र गर्छौं, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौं ।’नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका उम्मेद्वार शर्माले झापा क्षेत्र नं १ विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । उनले मेचीनगर–७ वडाको विकासका लागि पुल, सिचाई, रिङरोड बनाउने योजना विगतदेखि चल्दै आएको बताए ।

‘हिजो म हार्दै गर्दा पनि यो क्षेत्र रिङरोड बनाउने विषयमा पहल गरेकै हो,’ जितेर जाँदै गर्दा नगर्ने कुरै हुँदैन ।’ उम्मेद्वार शर्माले आम मतदाताको उत्साहका कारण नथाकेको बताए । अब मंसिर ४ गते सिंहदरवार छिरेर परिवर्तन कस्तो हुन्छ भनेर देखाउने उद्घोष गरे । शर्मासमक्ष गोमनसरीबासीले विकासका योजना बुँदागत रुपमा बुझाएका छन् । ती योजनालाई कार्यान्वयन गरेर विकासको मुहार फेर्ने समेत वचन दिएका छन् ।

कोणसभामा प्रदेश (क) का उम्मेद्वार गोपाल तामाङले ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर योजना बनाउने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वकृषिमन्त्री सरिता प्रसाईंले देश र प्रदेश हाँक्ने नेतृत्व झापा १ मा रहेकाले उहाँहरुलाई जिताउन सबै मतदातासँग अपिल गरिन् ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डेसहित गठबन्धन दलका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । यस्तै, प्रदेश (ख) का उम्मेद्वार श्यामविर लिम्बूले मेचीनगर–९ मा घरदैलो गरेका छन् । गठबन्धन दल माओवादी केन्द्रका साझा उम्मेद्वार लिम्बूले मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । भेटका क्रममा युवा जोस जाँगर बोकेका उम्मेद्वार लिम्बूलाई जिताउने वचन दिएका छन् ।

प्रतिकृया दिनुहोस्