News Portal

भारतीय फोटोग्राफर दुर्लभ रोय रिहा, पशुपतिको दर्शन गर्ने इच्छा

रातोपोस्ट संवाददाता
२१३ पटक

झापा, २ मंसिर । मुद्रासम्बन्धी कसुरमा एक वर्षदेखि थुनामा रहेका भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरी शुक्रबार थुनामुक्त भएका छन् । झापा जिल्ला अदालतको फैसलाबाट एक वर्षको कैद सजाय ठेकिएका चौधरी सजाय भुक्तान गरी शुक्रबार रिहा भएका हुन् । अमेरिकी डलरको कलर फोटोकपी बोकेर हिँडेको कसुरमा चौधरीलाई एक वर्षअघि झापा प्रहरीले पक्राउ गरेको थियो ।

नेपालमा ट्राभल भ्लग र प्राकृतिक सुन्दरताको फोटोग्राफी गर्न आएका चौधरीले सुटिङ प्रयोजनका लागि ल्याएको डलरको फोटोकपीको अनुमति नलिएका कारण पक्राउ परेका थिए । नेशनल जियोग्राफी, टाइम्स अफ इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत वर्षको मंसिर २ गते पक्राउ गरिएको थियो । त्यसलगत्तै खोटा मुद्राको मुद्दामा उनलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

थुनामा पठाएको ८ महिनापछि झापा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको इजलासले नक्कली मुद्रा बोकेको कसुरमा उनलाई एक वर्ष कैद र १५ हजार रूपैयाँ जरिवाना ठहर गरिएको थियो । दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी डलरको फोटोकपी पेपरलाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्ने प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।

यद्यपि दुर्लभले नेपाल ल्याएको उक्त डलरको फोटोकपी बाक्लो फोटो प्रिन्टमा कलर फोटोकपी गरिएको थियो भने सबै नोटको नम्बर एउटै रहेको थियो । सामान्य मानिसले पनि नक्कली हो भनेर चिन्ने उक्त नोटलाई प्रहरीले चलन चल्तीमै ल्याउन खोजेको भन्दै प्रतिवेदन दिएर मुद्दा दर्ता गरिएको थियो ।

पशुपतिको दर्शन गर्ने इच्छा
शुक्रबार झापास्थित कारागारबाट थुनामुक्त भएलगत्तै चौधरीले पशुपतिको दर्शन गर्ने बताएका छन् । आफू गलत मनसायका साथ नेपाल नआएको र आफ्नो उद्देश्य गलत नभए पनि एक वर्ष नेपालको जेलमा बिताउनुपरेको भन्दै उनले दुःख व्यक्त गरे । डलरको फोटोकपी ल्याउन अनुमति नलिनु प्राविधिक कमजोरी मात्रै रहेको भएपनि नेपालको प्रहरी र अदालतले आफूमाथि अन्याय गरेको उनले दुःखेसो पोखे । कारागार बसाईका क्रममा आफू डिप्रेसनमा गएको भन्दै अब पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्किने दुर्लभले बताए ।

प्रतिकृया दिनुहोस्