News Portal

झापामा दश जना नयाँ सांसद

रातोपोस्ट संवाददाता
२११ पटक

झापा, ११ मंसिर । झापाका मतदाताले पुराना धेरै अनुहारलाई पाखा लागाउँदै नयाँलाई सांसदमा रोजेका छन् । यसपटक प्रत्यक्षतर्फ १५ सांसदको सिटमध्ये १० जना नयाँ अनुहार आएका छन् । जिल्लामा प्रतिनिधिसभातर्फ दुई जना र प्रदेशसभातर्फ ८ जना नयाँ अनुहारका सांसद बनेका हुन् । त्यसमध्ये पाँच जना एमालेका, तीन जना कांग्रेस र राप्रपाका दुई छन् ।

झापा १ बाट निर्वाचित तीनै जना नयाँ अनुहारका युवा हुन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पहिलो पटक संसद् भवन छिर्ने भएका छन् । दुई पटक पराजय भोगिसकेका शर्मा तेस्रो पटकमा संसद्को ढोका खुलाउन सफल भएका हुन् । उनले
निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गरेका हुन् । शर्माले ३९ हजार ६२४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत प्राप्त गरेका छन् ।

झापा १ (क) मा कांग्रेस नेता गोपाल तामाङ प्रदेश सांसद
निर्वाचित भएका छन् । तामाङले एमाले नेता रविन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै सांसद बनेका हुन् । यस पल्ट जिल्लामै पहिलो महिला सांसद
राप्रपाकी सबिना बजगाईँ बनेकी छिन् । बजगाईँले माओवादी केन्द्रका श्यामवीर लिम्बुलाई एक हजार ३ सय ८७ मतान्तरले पराजित गर्दै प्रदेश सांसद बनेकी छिन्।

बजगाईँले १३ हजार ६ सय १२ मत ल्याएकीमा लिम्बुले १२ हजार २ सय २५ मत प्राप्त गरेका छन् । झापा २ मा एमालेका १ नम्बर प्रदेश इन्चार्ज देवराज घिमिरे पहिलो पटक निर्वाचित भएका छन् । घिमिरेले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल र माओवादीका हरि राणालाई पाखा लगाउँदै सांसद बनेका हुन् । घिमिरेले २८ हजार ७ सय १६ मत प्राप्त गरेका छन् । नेपालले २६ हजार ५५५ र राणाले १३ हजार ९३० मत ल्याएका छन् ।

झापा २ (ख) मा एमाले युवा नेता तिलचन पाठक (चिन्तन) प्रदेश सांसदमा निर्वाचित भएका छन् । पाठकले कांग्रेसका खगेन्द्र मैनालीलाई ३ हजार ८ सय ४१ मतान्तरले पराजित गर्दै सांसद बनेका हुन् । झापा ३ मा दुई पुराना अनुहारलाई पाखा लगाउँदै दुवै नयाँ अनुहार प्रदेश सांसदमा निर्वाचित भएका छन् ।

झापा ३ (क) कांग्रेसका भूमिप्रसाद राजवंशीले निवर्तमान प्रदेश सांसद एमालेका वसन्त बानियाँलाई एक हजार ६९ मतान्तरले पराजित गरेका छन्। ३ (ख) मा एमाले युवा नेता
छविलाल चुँडालले निवर्तमान सांसद माओवादी केन्द्रका पूर्णसिंह राजवंशीलाई ६ हजार ४२ भारी मतान्तरले पराजित गर्दै सांसद बनेका छन् ।

झापा ४ (क) मा एमालेका राधाकृष्ण खनालले माओवादीका झलकबहादुर मगरलाई पराजित गर्दै प्रदेश सांसदमा निर्वाचित भएका छन् । खनालले प्रदेश १ का पूर्व कृषिमन्त्री रहेका
मगरलाई एक हजार ५ सय ७८ मतान्तरले पराजित गरेका हुन् । खनालले १३ हजार ९ सय ५१ मत ल्याएकोमा मगरले १२ हजार ३७३ मत प्राप्त गरेका छन् ।

४ (ख) राप्रपाका केन्द्रीय प्रवक्ता भक्तिप्रसाद सिटौला प्रदेश सांसदमा निर्वाचित भएका छन् । सिटौलाले कांग्रेसका एकराज उप्रेतीलाई ३ हजार ९ सय ७४ मतले पराजित गरेका हुन् । सिटौलाले १९ हजार ४५ मत ल्याएकोमा उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरेका छन् । त्यस्तै झापा ५ (ख) एमालेका होमबहादुर थापाले प्रदेश सांसदमा निर्वाचित भएका छन् । थापाले माओवादीका रेवतराज पुरीलाई ६ हजार ८ सय १४ मतान्तरले पराजित गरेका हुन् ।

थापाले २४ हजार १ सय २९ मत ल्याउँदा पुरीले १७ हजार ३१५ मत प्राप्त गरेका छन् । यता पुराना अनुहारतर्फ झापा ३ बाट राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन सङ्घीय सांसदमा दोस्रो पटक, झापा २ (क) बाट एकराज कार्की प्रदेश सांसदमा दोस्रो पटक, झापा ४ बाट लालबहादुर साँवा संघीय सांसदमा दोस्रो पटक, झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली छैटौं पटक र झापा ५ (क) बाट एमालेका हिक्मतकुमार कार्की प्रदेश सांसदमा दोस्रो पटक निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्