News Portal

सहकारी सञ्चालककै बदमासीले धेरैजसो धराशायी

रातोपोस्ट संवाददाता
४४८ पटक

काठमाडौं, १८ मंसिर । सञ्चालकले सर्वसाधारणको पैसा आफूखुसी चलाउँदा सहकारीमा संकट निम्तिएको छ। सञ्चालक आफैं, परिवारका सदस्य तथा छद्मभेसी नाममासमेत ऋण लिएर सहकारीका पदाधिकारीले दुरुपयोग गरिरहेका छन्।

सञ्चालकले आफ्नै सम्पत्ति जस्तोगरी सहकारीको पैसा चलाउने, साँवा तथा ब्याज नतिर्ने गरेकाले पछिल्लो समयमा बिकराल समस्या आइरहेको छ। सञ्चालककै बदमासीले धेरैजसो सहकारी धराशायी भएका छन्।

फितलो नियमनका कारण केही सञ्चालकले सहकारीलाई प्राइभेट कम्पनीका रुपमा चलाएको सहकारी विज्ञहरू बताउँछन्। कतिपय सहकारीले चार्टड एकाउन्टेन्ट राखेर प्रोक्सी ट्रान्जेक्सन (नक्कली कारोबार) खडा गरी ठूलो वित्तीय विवरण देखाउने तर वास्तविक नगद नहुने गरेको सहकारीकर्मी मधुकर वाग्ले बताउँछन्। उनका अनुसार कतिपय सहकारीले कमिसन लिएर ऋण दिने गरेको पाइएको छ। ‘ऋण दिलाएबापत कमिसन लिने गरिन्छ’, उनी भन्छन्, ‘त्यसो गरेपछि कसरी उठ्छ सहकारीको ऋण ’ सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन्। जसमा सञ्चालकहरू नै साढे दुई लाखबढी छन्। उनीहरूमध्ये अधिकांशले सहकारीको पैसा मनपरी चलाएकाले निक्षेपकर्ताले लामोसमयदेखि फिर्ता पाएका छैनन्। बैंक तथा वित्तीय संस्थाका सञ्चालकले आफ्नो बैंकबाट ऋण लिन पाउँदैनन्। तर, सहकारीमा जति पनि ऋण लिएर सदस्यको पैसामा सञ्चालकले मोजमस्ती गरिरहेका छन्। सहकारी विभागलेसमेत त्यसमा मलजल गरिरहेको छ।

विभागले गत चैतमा जारी गरेको ३५ बुँदे निर्देशनमा ४९ प्रतिशत सञ्चालकले ऋण लिन पाउने व्यवस्था गरेको छ। उक्त निर्देशनमै ६७ प्रतिशत पदाधिकारीले अल्पकालीन ऋण लिन पाउने व्यवस्था छ। यसले गलत नियत भएका सञ्चालकलाई हौसला मिलेको छ।

गौरीबहादुर कार्कीको जाँचबुँज आयोग २०७० को प्रतिवेदनले सञ्चालकलाई ऋण दिन रोक्नुपर्ने सुझाव दिएको थियो। तर, सहकारीमा नियामक निकायले नै सहकारीमा कुशासन खल्बल्याउन मजलल गरिरहेको सहकारीका अगुवाहरू बताउँछन्। सबैजसो सञ्चालकले नै सहकारीको ऋण चलाएको सहकारीकर्मी नै स्वीकार्छन्। कतिपय सहकारीमा त सञ्चालकहरूले शतप्रतिशत ऋण चलाएको पाइएको छ। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल सञ्चालकले नै ऋण नतिर्दा धेरै सहकारी समस्यामा रहेको बताए। ‘पछिल्लो समय समस्या आउनुमा पनि सञ्चालक नै दोषी हुन्,’ पोखरेल भन्छन्, ‘सञ्चालकले ऋण तिरेमा मात्रै पनि धेरै सहकारी जोखिममुक्त हुन सक्छन्।’

सहकारीमा कुल ऋणको १० प्रतिशतभन्दा बढी ‘डोसरी ऋण’ (सञ्चालकहरूले लिने ऋण) छ। तर, ती ऋण नै भाखा नाघेका छन्। सहकारीले बिनाधितो अन्धाधुन्ध लगानी गरेका छन्। जसले गर्दा खराब कर्जा बढ्दै गएको सहकारीकर्मी नै बताउँछन्। सहकारीले बिनाधितो मात्र नभइ कसैले धितो लिइहालेमा पनि धितोभन्दा बढी नै ऋण दिने गरेका छन्। जसले गर्दा ऋण धितो लिलामी हुँदा पनि ऋण उठ्न सक्ने अवस्था हुँदैन। ‘सहकारीले आवश्यक कागजात तथा पर्याप्त धितो नलिएर जथाभावी ऋण परिचालन गर्दा दिनप्रतिदिन समस्यामा परेका छन्’, पोखरेल भन्छन्, ‘बिनाधितो ऋण दिने प्रवृति बढ्दै गएकाले ऋण उठ्न समस्या भएको हो।’

एकाघरमै एकभन्दा बढीलाई बिनाधितो ऋण दिइएकाले पनि ऋण नउठ्ने जोखिम बढ्दै गएको छ। एउटा शीर्षकमा ऋण लिने र अर्कैमा प्रयोग गर्ने प्रचलनका कारण पनि सहकारीमा समस्या बढ्दै गएको छ। प्रतिव्यक्ति १ लाखभन्दा बढी बिनाधितो लगानी नगर्न विभागले निर्देशन दिए पनि सहकारीले कार्यान्वयन गरेका छैनन्। भाखा नघाएको ऋणीलाई थप ऋण प्रदान गर्दा सहकारीको ऋण उठ्न झन् कठिन भएको छ। ५ प्रतिशतभन्दा बढी खराब कर्जा हुन नहुने भएपनि कतिपय सहकारीको खराब कर्जा ३५ प्रतिशत हुन सक्ने एक सहकारीकर्मी बताउँछन्।

सहकारीकर्मी वाग्लेका अनुसार ब्याजलाई पूँजीकरण गर्ने, ऋण उठेको देखाउने प्रवृत्ति बढ्दै जाँदा सहकारीमा दुर्घटना बढ्दै गएको छ। व्यवसायिक योजना बिनाधितो ऋण दिँदा सहकारी जोखिममा परेको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोखरेल बताउँछन्।

भ्यालुएसन गरेको जग्गाको फेयर मूल्यको ८० प्रतिशतभन्दा माथि लगानी गरिएको, घर निर्माण सम्पन्न भइसकेको १० वर्षपछि पनि आवास ऋण नै दिइएको छ। हायरपर्चेजमा गरिएको लगानीमा सवारीसधानको फोटोसमेत संलग्न नगरी, तेस्रो पक्षको धितो स्वीकार गरी ऋण प्रदान गरिएको छ।

राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारीको समस्या अध्ययन गर्न लागेको बताइन्। ‘सहकारीमा यसरी किन समस्या आयो, समाधानका उपाय के हो भन्ने विषयमा निष्कर्षमा पुग्छौं’ सुब्बाले भनिन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिकृया दिनुहोस्