News Portal

जाजरकोट जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने

रातोपोस्ट संवाददाता
२२८ पटक

काठमाडौं, २८ मंसिर । जाजरकोटमा सोमबार भएको जिप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ ।

जाजरकोट (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीवविक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो । १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सीपमूलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने प्रदेशसभा सदस्य शाहले बताए ।

आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा शाहले माइती नेपाललाई धन्यवाद समेत दिए । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादिक्षाको जिमा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन् ।

अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ । स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ ।

सोमबार जाजरकोटको छेडागाड नगरपालिका-४ मा भएको जिप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्