News Portal

बाहुनडाँगीमा माघे संक्रान्तिको अवसरमा तरुल उत्सव हुने

रातोपोस्ट संवाददाता
१७७५ पटक

झापा, १३ पुस । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा तरुल उत्सव हुने भएको छ । मेचीनगर–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो ।

हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे संक्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागेको मेचीनगर नगरपालिका–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

“हिजो हाम्रा बाबु बाजेले खाजाको रुपमा खाने तरुलको महत्व हराउँदै गयो”, उनले भने, “मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरुले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।”

उनले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सुढुनी तरुल, बनतरुललगायत परम्परागत कृषि औजारहरुको समेत उत्सवमा प्रर्दशनी गरिने बताए।

उनले बाहुनडाँगीबासीले दैनिक आउने जंगली हात्तीकोबाट अन्न जोगाउन नसके पछि पछिल्लो समय धान, मकैलगायतका खेतीको विकल्पमा सुपारी, मरिच, तेजपत्ता, चिया खेती गर्दै आएको बताए । उनले सुपारीखेती भित्रै तरुलको व्यवसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरुद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्व र खेतीको बारेमा जानकारी दिइने बताए।

उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई समेत उपस्थिति गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उहाँको भनाइ छ । उत्सवको आयोजना मेचीनगर–४ ले गर्ने उनले बताए । माघे संक्रान्ति उत्सव कति दिन लगाउने भन्ने बारे भाेलिकाे बैठकले टुंगाउने वडा अध्यक्ष कार्कीले बताए ।

प्रतिकृया दिनुहोस्