News Portal

पोखरा दुर्घटनामा बितेकी अञ्जुले १६ वर्षअघि यतीकै विमान दुर्घटनामा पति गुमाएकी थिइन्

रातोपोस्ट संवाददाता
२५८ पटक

कास्की, १ माघ । पोखरामा आज भएको विमान दुर्घटनामा परेकी को-पाइलट अञ्जु खतिवडाले पनि गुमाइन् । दु:खद संयोग के भने, १६ वर्षअघि अर्थात् ७ असार २०६३ मा यती एयरलाइन्सकै विमान दुर्घटनामा परी उनका श्रीमान् दीपक पोखरेलको मृत्यु भएको थियो ।

पोखरेल पनि त्यो विमानको को-पाइलट थिए । नेपालगञ्जबाट सुर्खेतहुँदै जुम्ला जाँदै गरेको एयरक्राफ्ट ९ एनएईक्यू सी विमान उडेको २६ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो । त्यो दुर्घटनामा ६ यात्रुसहित पाइलट किरण मल्ल, को-पाइलट पोखरेल र क्याबिन क्रु दीपक शेरचनको मृत्यु भएको थियो ।

को-पाइलट श्रीमान्‌को मृत्यु भएपछि अञ्जुले पाइलट तालिम लिएकी थिइन् । त्यो घटनाको १६ वर्षपछि यती एयरलाइन्सकै विमान दुर्घटनामा अञ्जुले ज्यान गुमाएकी छन् । अर्थात्, को-पाइलट दम्पतीले १६ वर्षको अवधिमा एउटै कम्पनीको विमान दुर्घटनामा परी ज्यान गुमाएका छन् ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । पाइलट कमल केसी, क्याबिन क्रु सिर्जना होंगचुन र ओसिन आलेमगरको पनि मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्