काठमाडौं, २ माघ । पोखरा विमान दुर्घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद डाक्नु स्वभाविक नै थियो । उनले आफ्ना सबै नियमित कार्यक्रम रद्द गरे । त्यसबाट घटनाप्रति सरकारको संवेदनशीलता देखिन्थ्यो ।
सँगै मन्त्रिपरिषदले सबै आन्तरिक उडानअघि विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । अनि त्यसै क्रममा सरकारले भोलि सोमबारलाई बिदा घोषणा गरेको छ । देश शोकमा भएका बेला धेरै बहसको गुन्जायस नहोला । तर एउटा प्रश्न जरुर उठ्छ– के बिदा नै हाम्रा समस्याहरुको समाधान हो ? बिदा दिएपछि अरु केही गर्नु नपर्ने ?
यस्ता प्रश्नहरु सामाजिक सन्जालमा उठिरहेका छन् ।
मिलन देवकोटाले लेखेकी छन्, ‘शोक बिदा रे । बिदाले ज्यान गुमाएका हाम्रा आफ्नाहरु फर्केर आउँछन् ? नेपालको आकाश किन असुरक्षित छ ? जहाजको कन्डिसन के कस्तो छ ? चालक दलका सदस्यहरु के कस्ता छन् ? कहिलै सरकारले यो बुझ्न खोजेको छ ?
स्वरुप आचार्यले लेखेका छन्– विदा दिनुको साटो यति एयरलाइन्सका सबै विमानहरुको सम्पूर्ण रुपमा स्वतन्त्र प्राविधिक अडिट नसकिएसम्म ग्राउण्डेड गर्ने निर्णय गर्नुपर्थ्यो जस्तो लाग्छ ।
त्यस्तै डा. प्रकाश बन्जाडेले लेखेका छन् – कस्तो दुखद् ! थोत्रा जहाज आकाशमा उडिन्जेल हामीले यस्तै नियति शोक भोगीरहनु पर्छ ! बिदा थोत्रा जहाजलाई गरौँ। हार्दिक श्रद्धाञ्जली । यस्ता धेरै कमेन्ट सामाजिक सन्जालमा प्राप्त भएका छन् । योसँगै सोसल मिडिया युजरले सरकारले तत्कालै बदलिने निर्णयबारे पनि आक्रोश पोखेका छन् ।
उनीहरुले प्रधानमन्नी प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले पोखरा जाने तयारी गरेकामा समेत आलोचना गरेका थिए । सुरक्षा निकायले समेत अहिले भीआइपी पुग्दा उद्दार कार्य नै प्रभावित हुन सक्ने भन्दै त्यहाँ नजान सुझाएपछि प्रधानमन्त्री र गृहमन्त्रीलाई लिन बालुवाटार पुगेको सेनाको हेलिकोप्टर फर्केको थियो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विमान दुर्घटनापछि खोजी तथा उद्धार कार्यका लागि सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरु परिचालन गरिएको भन्दै आफू र प्रधानमन्त्री त्यहाँ पुग्दा उद्धार कार्य झन प्रभावित होला भनेर तत्काल नजाने निर्णय गरेको उल्लेख गरे ।