News Portal

सीआईडी भन्दै लुटपाट गर्ने ६ जना पक्राउ

रातोपोस्ट संवाददाता
२३३ पटक

महोत्तरी, ५ माघ । नेपाल प्रहरीको ‘सीआईडी’ भनी सर्वसाधारणलाई धम्क्याउँदै लुटपाट गर्ने समूह पक्राउ परेको छ। आफूहरूलाई प्रहरीको सीआईडी​ भन्दै धम्की दिई लुटपाट गर्ने छ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको हो ।

समूहका बर्दिबास–१४ का २२ वर्षीय निरज साह, गुड्डु भनिने २२ वर्षीय पप्पु साह, २३ वर्षीय सन्दीप लामा, २० वर्षीय सनम लामा, बर्दिबास–१२ चल्कीटोलका शैलेन्द्र राउत र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका १९ वर्षीय दीपक राउतलाई पक्राउ गरी कारवाही बढाएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

पक्राउ परेका छ जनालाई नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानको म्याद लिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

गत पुस २८ गते पूर्वपश्चिम राजमार्गको बर्दिबास–४ माइस्थान वनक्षेत्रबाट सर्लाहीको हरिऔनका बासिन्दा राहुल महतौले आफूलाई कब्जामा लिएर भित्री जंगलमा पुर्‍याएर लुटपाट गरेको जाहेरी दिएलगत्तै खोजी गर्दा आरोपीलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाबाट लुटपाट गरिएका सामानमध्ये घडी, ब्रासलेट र नगदबाहेक सबै सामान बरामद भएको प्रनाउ रावलले जानकारी दिए। राहुलले तत्काल इलाका प्रहरी कार्यालय बर्दिबास पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराएपछि उनीहरूको खोजी गरेर सबैलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रनाउ रावलले बताए। बर्दिबास नगरक्षेत्रमा यसअघि पनि प्रहरी हौँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने घटना हुने गरेको थियो।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)