News Portal

संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका प्रेमप्रसादको निधन

रातोपोस्ट संवाददाता
१६४ पटक

काठमाडौं, माघ ११ । राजधानीको संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गरेका युवाको उपचारको क्रममा निधन भएको छ। उनको आज बिहान ५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । शरिरको अधिकांश भाग जलेको हुनाले बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।

मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो। ​ मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की पनि उनलाई भेट्न अस्पताल पुगेकी थिइन्। उनको शव अहिले अस्पतालमा नै रहेको छ ।

उनले मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै आफूलाई सबैतिरबाट लुट्ने काम मात्रै भएको र सम्पत्ति पनि सबै सकिएको कारण आत्मदाहको बाटो रोज्न लागेको बताएका थिए । आफूलाई सबैतिरबाट लुटिएको र सम्पत्ति सकिएको भन्दै क–कसको कारण आफू बर्वाद भएँ भनेर उल्लेख गरेका छन् । आचार्यको फेसबुक स्टाटसमा नेपालमा नाम चलेका व्यापारिक घरनाहरुको नाम उल्लेख छ ।

त्यसैगरी ग्रामिण क्षेत्रमै कृषि उद्योग खोलेपनि कृषि अनुदान पाउन नसकिएको तर त्यहीँका वडाध्यक्ष र राजनीतिक कार्यकर्ताले मात्रै अनुदान पाएको गुनासो पनि उनले गरेका छन् । उनले स्टाटसमा ‘यो देश, यहाँका व्यापारीहरु सबै लुटेरा रहेको’ भन्दै सकेजति लुट्न भनेका छन् । ठूला व्यापारिक घराना र व्यापारीकै नाम लिँदै उनले गरिब र किसानको आँसुमा कसरी ठूलाको मनलाग्दी भइरहेको भन्नेबारे फेहरिस्त पनि प्रस्तुत गरेका छन् ।

काठमाडौंमै भएको घर, पुर्खौली घर सबै बेचिसकेको र अझै पनि ६० लाखभन्दा बढी ऋण रहेको कुरा आचार्यले फेसबुकमा लेखेका छन् । श्रीमतीले पनि आत्महत्याको प्रयास गर्न थालेको कारण पहिले आँफै संसारबाट विदा हुन लागेको भन्दै त्यसलाई उनले ‘क्रान्ति’ भनेका छन् । श्रीमतीको ज्यान बचाइदिने कोही मनकारी भए सहयोग गर्न आग्रह गर्दै उनले श्रीमतीको बैंक खाता नम्बर पनि सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस्