News Portal

कानुन व्यवसायीलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण

रातोपोस्ट संवाददाता
२०२ पटक

झापा, ११ माघ । झापा र इलामका कानुन व्यवसायीहरूलाई साइबर अपराधसम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाल बार एसोसिएसन झापा जिल्ला बार इकाई तथा इन्टरनेट गभर्मेन्स इन्स्टिच्युसनको आयोजना र नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा एक दिवसीय साइबर अपराध र दूरसञ्चारसम्बन्धी प्रशिक्षण दिइएको हो ।

साइबर अपराध रोकथाम, नियन्त्रण र कानुनी उपचारका लागि सहजता ल्याउन प्रशिक्षण दिइएको झापा बारका कोषाध्यक्ष अधिवक्ता खरेन्द्र खरेलले जानकारी दिए । प्रशिक्षणमा झापा, इलामका कानुन व्यवसायी, सरकारी वकिल, झापा जिल्ला अदालतका कर्मचारी, प्रहरीलगायत ८० जनाको सहभागिता रहेको थियो ।

इन्टरनेट गभर्मेन्स इन्स्टिच्युसनका अध्यक्ष अधिवक्ता बाबुराम अर्याल तथा नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्थले सहभागीलाई प्रशिक्षण दिएका थिए । अर्यालले नेपालमा साइबर अपराध, कानुन र अभ्यासका बारेमा र पन्थले सूचना प्रविधिसम्बन्धी कानुन, दूरसञ्चार ऐनलगायतका बारेमा प्रशिक्षण दिएका थिए ।

झापा बारका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरज खत्रीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि खत्री, वरिष्ठ अधिवक्ता दामोदार सापकोटा, हिरण्य अधिकारी, पूर्व अध्यक्ष नारायण भट्टराई, रोशनकुमार पोखरेल, झापा बारका यज्ञ अधिकारी, उपाध्यक्ष कमला आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला, टंक उप्रेती, गजेन्द्र आचार्य, नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल, झापा बारका सल्लाहकार अमृतबहादुर बुढाथोकी, इलाम बारका अध्यक्ष तारानाथ पराजुली, एसोसिएसन उच्च अदालत इलाम बार इकाई अध्यक्ष उत्तम पौडेललगायतको आतिथ्य रहेको थियो । झापा बारकी सचिव हेमकला कट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सुबोधबाबु चिलवालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्