News Portal

गृहमन्त्री लामिछाने बिरुद्धको मुद्दा: सर्वोच्चमा बढाइयो सुरक्षा

रातोपोस्ट संवाददाता
१५४ पटक

काठमाडौं, १३ माघ । गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको सुनुवाइ सकिएसँगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएसँगै अब आदेशको प्रतिक्षा भइरहेको छ।

यो मुद्दामा सर्वोच्चले आदेश दिने या आदेशका लागि अर्को मिति तोक्न सक्ने छ । आदेशका लागि संवैधानिक इजलासमा न्यायाधीशहरु अहिले छलफलमा छन्। उनीहरुले छलफल सकेपछि रविको नागरिकता मुद्दामा आदेश दिने तयारी छ।

मुद्दाको सुनुवाइ सकिएसँगै अहिले महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षाकर्मीको संख्या बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट डीएसपी पवत भट्टराईको नेतृत्वमा थप टोली सर्वोच्चमा पठाइएको छ । यसैगरी प्रहरी वृत्त सिंहदरबारबाट पनि थप टोली पठाइएको प्रहरी स्रोतले जनाएको छ । यस्तै सर्वोच्चमा एसपीको कमाण्डमा नियमित टोली पनि रहेको छ ।

आदेश आउने भएपछि सर्वसाधारणको पनि चासो सर्वोच्चतिर बढेको छ। बुधबार सुनुवाइ नसकिएपछि शुक्रबार (आज) का लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो।

अधिवक्ता रविराज बसौला र सिन्धुलीका युवराज पौडेल सफलसहितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा गरिएको थियो।

प्रतिकृया दिनुहोस्