मेचीनगर, २९ माघ । झापाको मेचीनगर-९ मा जारी प्रथम वडाध्यक्ष कप अन्तर फुटबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा झापा लिला बस्ती क्षेत्र विजयी भएको छ ।
स्थानीय कवि शिरोमणी माविको खेल मैदानमा आज भएको खेलमा हिमालयन झरना क्षेत्रलाई ४-१ को फराकिलो गोल अन्तरले झापा लिला बस्ती क्षेत्र विजयी भएको आयोजक वडा खेलकुद विकास समिति मेचीनगर-९ का सचिव राजु धिमालले जानकारी दिए । झापा लिला बस्ती क्षेत्रको तर्फबाट सुनिल बराइलीले २ गोल, सन्ताेस राजवशीले १ गाेल र सराेज गुरुङले १ गाेल गरेका थिए । हिमालयन झरना क्षेत्र तर्फबाट कृष्ण राजवंशीले १ गाेल गरे ।
वडा खेलकुद विकास समिति मेचीनगर ९ ले आयोजना गरेको प्रतियोगितामा वडाका विभिन्न ९ वटा टिमले प्रतिष्पर्धा गरिरहेका छन् । फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद ४० हजार र उपविजेता टिमले नगद २५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । साेमबारको खेल धुलावारी बजार क्षेत्र र फार्म सात पाखे क्षेत्रबिच दिउसाे ३ बजे हुने वडा खेलकुद विकास समितिका संयोजक राजन खड्काले जानकारी दिए ।
आजकाे खेलमा बाहिरका खेलाडि ल्याएकाे भन्दै हिमालयन झरना क्षेत्रले झापा लिला बस्ती क्षेत्रलाइ प्रोटेस हालेकाे छ । प्रोटेस हालेकाे विषयमा भाेलि दिउसाे १२ बजे पछि समितिले निर्णय सुनाउने वडा खेलकुद विकास समितिका संयोजक खड्काले जानकारी दिए ।