News Portal

मेचीनगरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

रातोपोस्ट संवाददाता
२२२ पटक

झापा, १ फागुन । मेचीनगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा धुलाबारी माविले प्रारम्भिक अग्रता लिएको छ। सोमबारदेखि सुरु प्रतियोगितामा आठ सय मिटर दौड छात्रछात्रा र एक सय मिटर छात्रा दौडमा प्रथम हुँदै सो माविले अग्रता लिएको हो। उसुका विभिन्न इभेन्टमा आदर्श विद्यामंदिरले जीत दर्ता गरेको छ।

प्रतियोगितामा मेचीनगरका ४१ विद्यालय सहभागी छन् । भलिबल, कवर्डी, एथलेटिक्सका फिल्ड र ट्रयाक , उसु, कराँते , तेक्वान्दो लगायत खेलमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको उदघाटन झापा १ प्रदेश १ का सांसद गोपाल तामाङले गरेका हुन् । उनले खेलकुदले अनुशासन कायम राख्ने र जीवन बदल्ने बताए ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, धुलाबारी माविका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईं, प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक केशव पोखरेल लगाततले खेलकुदको महत्वका बारेमा प्रकाश परेका थिए।

प्रतियोगिता उदघाटनमा धुलाबारी माविका विद्यार्थीले एनसीसीका विभिन्न विधामा आफ्नो कला प्रदर्शन गर्नुका साथै रेडक्रस र स्काउट आबद्ध विद्यार्थीले मार्चपास गरेका थिए। प्रतियोगिता तीन दिनसम्म चल्ने धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले बताए ।

प्रतियोगिता धुलाबारी माविको प्राङ्गणमा जारी छ। उदघाटन कार्यक्रममा धुलाबारी माविका विद्यार्थीले स्वागत नृत्य र झापा नेशनलका विद्यार्थीले उराँव नृत्य प्रदर्शन गरेर कार्यक्रमलाई रोमाञ्चक बनाएको धुलाबारी माविका सूचना अधिकारी दिपेन्द्र कन्दङ्वाले बताए ।

प्रतिकृया दिनुहोस्