News Portal

चर्च ब्वाइज भद्रपुर झापा गोल्डकपकाे क्वाटरफाइनलमा

रातोपोस्ट संवाददाता
१९९ पटक

झापा, ८ फागुन । चर्च ब्वाइज युनाइटेड प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको क्वाटरफाइलनमा प्रवेश गरेको छ । सोमबार मेची रंगशालामा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क्वाटरफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितका लागि आशिष चौधरीले दुई र गगनदीप सिंहले एक गोल गरे । सिंहले ४० औँ र चौधरीले खेलको ५६ औँ र ६० औँ मिनेटमा गोल गरे । किप्परबाट पञ्च भएको बललाई पेनाल्टी एरियामा रहेका सिंहले गोलमा परिणत गरेका थिए ।

पहिलो गोलपछि आग्रमक बनेको चर्च ब्वाइजले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । दुवै गोल चर्च ब्वाइजका स्ट्राइकर चौधरीले गरे । खेलको ५६ औँ मिनेटमा सुवास गुरुङले गरेको पासमा पेनाल्टी एरियामा रहेका चौधरीले गोलमा परिणत गरेका थिए । लगत्तै ६० औँ मिनेटमा चौधरीले अर्को गोल थपे । मैदानबाट बल अघि बढाउँदै चौधरीले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

खेलको अधिकांश समय पुलिस क्लब चर्च ब्वाइजको दबाबमा परेको थियो । खेलभर पुलिसको प्रदर्शन कमजोर देखियो । चर्च ब्वाइजले राम्रो प्रदर्शन गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका आशिष चौधरी घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । जितसँगै चर्च ब्वाइजले क्वाटरफाइनलमा बुधबार मच्छिन्द्र फुटबल क्लबसँग खेल्नेछ ।

मंगलबारको पहिलो क्वाटर फाइनल खेल आयोजक भद्रपुर ब्लेजर्स र संकटाबीच हुने आयोजक भद्रपुर-झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । आइतबारबाट सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्