News Portal

भद्रपुर झापा गोल्डकपमा मच्छिन्द्र क्लब सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
१८७ पटक

झापा, १० फागुन । प्रथम भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रंगशालामा बुधबारको खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र गोल्डकपको अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठ र स्ट्राइकर विमल घर्तीमगरले गोल गरे । चर्च ब्वाइजका लागिकप्तान अनन्त तामाङले सान्त्वना गोल फर्काएका थिए ।
खेलमा अग्रता भने चर्च ब्वाइजले लिएको थियो । तर, अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ । ५४ औं मिनेटमा अनन्तले हेडरमार्फत गोल गरेका थिए । गगनदीप सिंहको क्रस पासमा पेनाल्टी एरियामा रहेका डिफेण्डर अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गरेका थिए । उनको हेडरलाई मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले सही जजमेन गरे पनि बल नियन्त्रणमा लिन चुकेका थिए ।

खेलमा फर्किन मच्छिन्द्रलाई ८१ औं मिनेटसम्म पर्खिनु परेको थियो । उसका कप्तान सुजल श्रेष्ठले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले करिब ३५ यार्ड टाढाबाट गरेको फ्रि किक बल सिधैं गोलमा परिणत भएको थियो । उनको प्रहारलाई रोक्न चर्च ब्वाइजका गोलरक्षक रेन्बो चौधरीले कुनै प्रतिक्रिया जनाएनन् ।

खेल बराबरीमा आएपछि मच्छिन्द्रले चर्च ब्वाइजको गोलपोस्ट माथिको आक्रमणलाई तीव्र बनाएको थियो । ८६ औं मिनेटमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मच्छिन्द्रको जित निश्चित गरेका थिए । मैदानको दायाँतर्फबाट छिरिङ गुरुङले दिएको लामो पासमा विमलले सेकेन्ड पोल च्याप्दै गरेको हेडर गोलमा परिणत भएको थियो ।

खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । चर्च ब्वाइजले खेल सुरु भएको तेस्रो मिनेटमै एउटा अवसर गुमाएको थियो । लामो पासमार्फत पाएको बललाई लगभग मच्छिन्द्रका डिफेन्डरलाई बिट गरिसकेको अवस्थामा उसका स्ट्राइकर आशीष चौधरीले प्रहार गरेको बल गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो । ४८ औं मिनेटमा मच्छिन्द्रका डिफेन्डर देवेन्द्र तामाङको फ्रि किक बललाई प्रशान्त अवस्थीले पोस्टको दिशा दिन सकेनन् ।

खेलमा मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठ म्यान अफ द म्याच भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे । बिहीबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र भुटानको ड्रुक ल्हायुल फुटबल क्लबबीच खेल हुने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्