News Portal

मेचीनगरमा विद्यालय स्तरीय नाट्य उत्सव हुने

रातोपोस्ट संवाददाता
३६६ पटक

झापा, १३ फागुन । झापाको मेचीनगरमा नाट्य उत्सव आयोजना हुने भएको छ । समाजमा विद्यमान रहेका विभिन्न समस्याविरुद्ध नाट्य क्षेत्रबाट निरन्तर आवाज उठाउँदै आएको संस्था परिवर्तन थिएटरको आयोजनामा “प्रथम मेचीनगर स्तरीय स्कुल नाट्य उत्सव” काँकरभिट्टामा (भोली) आइतबारदेखि शुरु हुन लागेको हो ।

विद्यार्थीहरुलाई रंगकर्मप्रति आकर्षित गराउँदै नाटक पनि खेलकुद, नृत्य, गायन जस्तै महत्वपुर्ण विषय हो भन्ने सन्देश दिन उत्सवको आयोजना गर्न लागिएको छ । भोलीबाट शुरु हुने नाट्य उत्सव १६ गतेसम्म मेची सामुदायीक भवनमा रहेको परिवर्तन थिएटरको रंगमञ्चमा सञ्चालन हुनेछ ।

उत्सवमा नगर क्षेत्रका निजि तथा सामुदायिक गरि १० विद्यालयका विद्यार्थीहरुले तयार पारेको नाटक मञ्चन हुने छ भने कदम थिएटर दमकका तर्फबाट पनि एउटा नाटक प्रस्तुत हुने संस्थाकी नाट्य कला संयोजक कविता नेपालले जानकारी दिइन् ।

“विद्यालयमा खेलकुद, नृत्य, गायन लगायतका क्षेत्रमा निरन्तर अभ्यास हुन्छ, तर नाटकको क्षेत्रमा अभ्यास हुने गरेको हामीले पाएनौँ ।” नाट्य संयोजक नेपालले भनिन्, “ नाटकप्रति विद्यालय र विद्यार्थीको रुचि बढाउँदै नाटकलाई विद्यार्थीसगँ जोड्न नाट्य उत्सवको आयोजना गरेका हौँ ।”

उत्सवमा विद्यार्थी आफैले तयार पारेको नाटक प्रस्तुत हुनेछ भने अन्तिम दिन रंगकर्म सम्बन्धि तालिम पनि सञ्चालन गरिने छ । उक्त तालिममा भारतको सिलिगुरिबाट अतिथिका रुपमा आएका
विश्वजित राेयले प्रशिक्षण दिने पत्रकार सम्मेलनमा जानकारी दिए ।

परिवर्तन थिएटर लामो समयदेखि समाजमा हुने गरेका जातिय विभेद, घरेलु हिंसा, लागु औषधको प्रयोगकर्ता लगायतका समस्यामा नाटकको माध्यमबाट आवाज उठाउँदै आइरहेको संस्थाका रुपमा परिचत छ । नाटकलाई समाज परिवर्तनको मुल आधार मान्ने यस संस्थाले विद्यालयमा, गाउँ गाउँमा, सडकमा विभिन्न नाटक प्रदर्शन गरिसकेको छ ।

यसपटक विद्यार्थीहरुलाई पनि रंगमञ्चमा उतार्ने महान उद्देष्यका साथ नाट्य उत्सवको आयोजनामा संस्था लागि परेको हो । नाट्य उत्सव सम्पन्न गर्न १ लाख खर्च लाग्ने अनुमान गरिएको छ । तर पनि कसैको सहयोगविना संस्थाको आफ्नै बलवुतोबाट उत्सव आयोजना गर्न लागिएको संस्थाकी संस्थापक अध्यक्ष समेत रहेकी नेपालले बताइन् ।

मेची सामुदायीक भवनको साँघुरो कोठामा रहेको रंगमञ्चलाई यतिबेला उत्सव आयोजनाका लागि चिटिक्क पारिएको छ । उत्सवमा प्रवेशका लागि शुल्क तिर्नुपर्ने छैन, निशुल्क व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस्