News Portal

त्रिभुवन आर्मी भद्रपुर झापा गोल्डकपको फाइनलमा

रातोपोस्ट संवाददाता
१९९ पटक

झापा, १३ फागुन । उपाधिका दाबेदार मानिएका संकटा क्लब काठमाडौँमाथि सङ्घर्षपूर्ण जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी प्रथम भद्रपुर झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले आहा रारा पोखरा गोल्डकपमा ‘ए’ डिभिजन टोली संकटासँग हारको बदला समेत लिएको छ ।

भद्रपुरस्थित मेची रंगशालामा शनिवार भएका पहिलो सेमिफाइनल खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । फाइनल पुगेसँगै आर्मीले कम्तीमा ७ लाख रुपैयाँ पुरस्कार पक्का गरेको छ ।

निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुङ्गिएपछि खेलमा १४ मिनेट अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनको गोल नै निर्णायक बने । आर्मीले पाएको फ्री– किकलाई केसीले सदुपयोग गरे । सन्तोष केसीको फ्री– किक प्रहारलाई उनले जाली चुमाए ।

जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । दर्शकले खचाखच खेलमा दुवै टिमले आक्रामक खेल खेलेका थिए । दुवै टोलीले गोल गर्ने अवसरहरू गुमाए । खेलको ८८ औं मिनेटमा आर्मीका रिपु भुलानको पासमा प्रज्जवल गुरुङले हेडमार्फत गोल गरे । गोल भएपछि खेलाडीहरू खुसी मनाउन थाले ।

तर, अफसाइडका कारण गोल दिइएन । त्यही बेला संकटाका मनिष डाँगीले बललाई अगाडी बढाउँदै गरेको प्रहार पोस्ट नजिकबाटै बाहिरियो । डाँगीलाई डिबक्सबाहिर आर्मीका जितेन्द्र कार्कीले लडाए । शनिवारको खेलको प्लेयर अफ द म्याच आर्मीका सुरज बस्नेत घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो । आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्रको एपिएफबीच हुने आयोजकले जनाएको छ ।गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्