News Portal

विप्लव नेतृत्वको नेकपाद्वारा वित्तीय संस्था र मिटरब्याजी विरुद्ध प्रदर्शन

रातोपोस्ट संवाददाता
२४० पटक

झापा, १५ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले झापामा बृहत् विरोध प्रदर्शन गरेको छ। विप्लव नेतृत्वको नेकपाले बैंक, वित्तीय संस्था तथा मिटरब्याजीका विरुद्ध झापाको दमकमा सोमबार विरोध प्रदर्शन गरेको हो।

खाद्यान्न, तरकारी, दूध, फलफूल लगायतको मूल्यवृद्धिका कारण जनजीवनमा असर र बैंक तथा वित्तीय संघसंस्थाहरूको महँगो ब्याजदर र मिटरब्याजीको कारण उद्योगी, व्यवसायी, किसान र मजदुर लगायत आम सर्वसाधारणहरूलाई आत्महत्याको स्थिति समेत उत्पन्न गराएको भन्दै विद्यार्थी, वित्तीय संस्था र मिटरब्याजीबाट पीडित जनतासहित नेकपाले विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले दमक बजार परिक्रममा गर्दै बढ्दो महँगी नियन्त्रण गर, बैंक वित्तीय संस्थाहरूको आतंक बन्द गर, भ्रष्टाचार नियन्त्रण गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद जस्ता नारा लगाएका थिए । विरोध प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला सचिव सञ्जय सिलेले मूल्यवृद्धि, बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर, मिटर ब्याज र भ्रष्टाचार लगायतका अर्थतन्त्रको क्षेत्रमा देखिएका समस्याहरूले गर्दा मजदुर, किसान, उद्योगी, व्यापारीहरू आत्मदाह गर्ने स्थितिमा पुगेको जिकिर गर्दै जनता नलुट्न र सहज ढंगले ऋण तिर्ने वातावरण तय गर्न आग्रह गरेका छन्।

पार्टीको आग्रहलाई अटेर गरे जस्तोसुकै परिस्थिति सिर्जना हुने भन्दै जनता लुट्ने जो कोहीलाई जस्तोसुकै कारबाही गरिने उनले चेतावनी दिएका छन्। युवा संगठनका केन्द्रीय कोषाध्यक्ष सुवास सीले जनतालाई लुट्ने मिटर ब्याजी, बैंक तथा वित्तीय संस्थाहरूलाई जनताका माझ ल्याएर कारबाही गर्ने चेतावनी दिए। पार्टीले मेची ब्युरो अन्तर्गत झापा, इलाम र पाँचथरमा रहेका विभिन्न लघुवित्त तथा वित्तीय संस्थाहरूलाई जनतालाई सहज ढंगले ऋण तिर्ने वातावरण बनाउन सम्झाउँदै आए पनि अटेर गरेको भन्दै उक्त पार्टी आक्रामक बन्दै गइरहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्