News Portal

अब बन्ने राष्ट्रपतिलाई गल्ती गर्ने छुट छैन : गगन थापा

रातोपोस्ट संवाददाता
२२८ पटक

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब बन्ने राष्ट्रपतिलाई विगतको जस्तो गल्ती गर्ने छुट नभएको बताएका छन् । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा आठ दलले शुक्रबार काठमाडौंमा गरेको बागमती प्रदेश सभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रममा थापाले विगतमा राष्ट्रपतिको संस्थाबाट धेरै त्रुटी भएको भन्दै अबको राष्ट्रपतिलाई गल्ती गर्ने छुट नभएको बताएका हुन् ।

उनले एउटा व्यक्तिका कारण गत पाँच वर्ष खेर गएको भन्दै अबको समयमा जनतामा आशा सञ्चार गर्ने काम गर्नुपर्ने धारणा राखे । उनले जनताका लागि परिणाममूखी काम गर्न सके गठबन्धनले औचित्य पुष्टि गर्नै नपर्ने बताए । थापाले अब बन्ने राष्ट्रपति दलको प्रतिनिधि हुन नसक्ने जिकिर गरे । त्यस्तै थापाले अहिले प्रचण्ड, माधव नेपाल लगायतका शीर्ष नेतामा पदको लोभ नभएकै कारण नयाँ गठबन्धन बन्न सकेको जिकिर गरे ।

कार्यक्रममा अन्य दलका प्रतिनिधिहरूले आठ दलीय गठबन्धनबाट अघि सारिएका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई अत्याधिक मतका साथ विजयी गराउनुपर्ने बताएका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरू रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको थियो । संयन्त्रको निर्णयबमोजिम शुक्रबार बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस्