News Portal

बाँसबारी वनमा मतदान जारी, ३ सय मत खस्यो

रातोपोस्ट संवाददाता
४०८ पटक

मेचीनगर, २० फागुन । मेचीनगरको उत्कृष्ट पर्यटकीय गन्तव्य बाँसबारी सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको छ । वन कार्यालयको परिसरमा शनिबार विहान ८ बजेबाट सुरु भएको मतदान कार्यक्रम ४ बजेसम्म चल्ने छ । दिउँसो १ बजेसम्म करिब ३ सय उपभोक्ताले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।

मतदान पछि मतगणना आजै (शनिबार) गरिनेछ । बेलुका ६ बजेदेखि मतगणना गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । उक्त वन समूहमा ४८२ उपभोक्ता घरधुरी रहेका छन् । एक उपभोक्ता घरधुरीबाट दुईजनाले मतदान गर्न पाउने छन् । नयाँ समितिका लागि उपभोक्ताहरु अलग–अलग समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् । एकातिर एमाले निकट समूह र अर्कोतिर काँग्रेस, माओवादी, राप्रपा निकटलगायतको समूह चुनावी मैदानमा उत्रिएको छ ।

वन समूहको १२ सदस्यीय पदमा निर्वाचन हुँदैछ । एकजना सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । एमाले निकट उपभोक्ता हकहित संरक्षणका लागि बामपन्थी समूह र काँग्रेस निकट लोकतान्त्रिक समूह चुनावमा होमिएको छ । एमालेबाट अम्बिका मैनाली प्रसाईं अध्यक्ष पदमा उठेकी छिन् भने काँग्रेस समूहबाट भक्त तामाङलाई अगाडि सारिएको छ ।

प्रतिकृया दिनुहोस्